अपडेट 
२०७८ भाद्र १७, बिहीबार ०६:४८

जनकपुरधाम । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिजय कुमार यादवले पदभार ग्रहण गरेका छन् ।

बुधबार जनकपुरधामको मुरली चोकस्थित मन्त्रालय पुगेर मन्त्री यादवले पदभार ग्रहण गरेका हुन् । मन्त्रालय पुगेलगत्तै मन्त्री यादवलाई राज्यमन्त्री योगेन्द्र राय यादव र कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । पदभार ग्रहण गरेका मन्त्री यादवको स्वागत गर्न जनकपुरधामका मेयर लालकिशोर साह, जसपा जिल्ला अध्यक्ष पशुपति यादव लगायतका नेताहरु पुगेका थिए । पदभार ग्रहण गर्दै मन्त्री यादवले किसानले मन्त्रालयबाट पाउने सुविधाको सूचना एक महिनाभित्र निकाल्न कर्मचारीलाई निर्देशन दिए । उनले भने, ‘ढिलो सूचना निकाल्दा किसानले सेवा सुविधाबाटै बञ्चित हुन्छ । बजेटको सदुपयोग हुँदैन । त्यसैले छिटोभन्दा छिटो सूचना निकाल्नुपर्छ ।’ सूचना प्रणालीमा कमजोर रहेको भन्दै मन्त्रालयका कर्मचारीलाई भने, ‘तपाईहरु नै स्थायी सरकार हुनुहुन्छ । गर्ने तपाईहरु नै हो । तपाईहरुले गर्नुभयो भने मात्र सफलता प्राप्त हुन्छ । त्यसैले सफलताका लागि सबैजना मेहनत गरौं ।’ जमिन–आसमान एक गरिदिने प्रतिवद्धताका साथ काम गर्न उनले सुझाए । सबैकुरा मन्त्रीले नै गर्ने कन्सेप्ट त्याग्न उनले कर्मचारीसँग आग्रह समेत गरे । संघ सरकार दुश्मन नभई अभिभावक रहेको उल्लेख गर्दै उनले भने, ‘अभिभावकसँग हामीले लिने क्षमता राख्नुपर्छ ।’ गएको भदौ १३ गते मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेको थियो ।

अर्थमन्त्री यादवलाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाइएको छ भने कृषिमन्त्री शैलेन्द्र साहलाई अर्थमन्त्री मन्त्रालयको जिम्मेवारी दिएको थियो । अर्थमन्त्री साहले गएको सोमबार नै पदभार ग्रहण गरेका थिए ।

Comment

Related News

Latest News

Trending News