लालबन्दी । सर्लाहीको हरिपूर्वा नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि भदौ १९ गतेबाट विवरण संकलन गरिने भएको छ ।
विवरण संकलन गर्नका लागि जिल्ला प्रशासन कार्यालय मलंगवाको आयोजनामा स्थानीय जनप्रतिनिधि, वडा सचिव, अन्य कर्मचारी र शिक्षकहरुलाई अभीमुखीकरण प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले राष्ट्रिय परिचय पत्रका बारेमा सहभागीहरुलाई बुझाउदैँ जनप्रतिनिधि, वडा सचिव, कर्मचारी र टोलीमा खटिने शिक्षकहरुलाई आ– आफ्नो भूमिकाका विषयमा बताएका छन् । प्रजिअ महतोकै अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको प्रमुख आतिथ्यता तथा हरिपूर्वा नगरपालिकाका नगरप्रमुख शियाराम रायको विशिष्ट आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । मंगलबार भएको कार्यक्रममा राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख दीलिप कुमार सिंह, सशस्त्र प्रहरीका नायब उपरीक्षक सरोज सिंह खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश ठाकुर, हरिपूर्वाका सबै वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, अन्य कर्मचारी लगायतको उपस्थिति रहेको थियो । हरिपूर्वामा राष्ट्रिय परिचय पत्रका लागि यही भदौ १९ गतेबाट विवरण संकलनको काम सुरु गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी महतोले बताए । विवरण संकलनका लागि प्रत्येक वडामा कर्मचारी खटिएर जाने छन् । कर्मचारीहरु केही साता वडाको पायक पर्ने स्थानमा बसेर विवरण भर्ने काम गर्ने प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिए । अहिले ईश्वरपुर नगरपालिकाका विभिन्न वडामा विवरण संकलनको काम चलिरहेको छ । सर्लाहीमा हालसम्म विभिन्न नगरपालिका र गाउँपालिका गरी ९ वटा पालिकामा विवरण संकलनको काम भइसकेको छ ।
सरकारले निकट भविष्यमा नागरिकतालाई विस्थापित गर्दै प्रत्येक नागरिकलाई नेपाली भएको पहिचान दिने र विभिन्न सेवा सुविधा लिन सहज हुने गरी राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्न लागेको छ ।


