अपडेट 
२०७८ भाद्र १८, शुक्रबार ०७:१७

जनकपुरधाम । जलेश्वर नगरपालिकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

‘ट्राफिक प्रहरीको चरम लापरवाही र स्थानीय निकायको मौनताकै कारण जलेश्वरको ट्राफिक समस्या दिन प्रतिदिन बढेर गएको स्थानीय व्यापारी शम्भु साहले गुनासो पोखे । उनले भने ‘एकातिर व्यवस्थित पार्किंगको अभाव, सर्वसाधारणमा ट्राफिक सम्बन्धि जनचेतनाको अभाव र अर्कोतिर बेलाकुबेला बिच चोकमै ट्राफिक प्रहरीले चेकजाँच सुरु गरिदिन्छ । ’ चेकजाँच कै कारण महेन्द्रचोक ,नगरपालिकाचोक सहित सम्पुर्ण मुख्य सडकहरुमा सम्म पैदल हिँड्न समेत गाह्रो हुने गरेको दुखेसो उनको छ । जलेश्वर बजार क्षेत्रका सडकहरुमा न त कत्तै ट्राफिक बोर्ड नै देखिन्छ न त कत्तै कुनै चिन्हको तस्वीर अर्थात यहाँको ट्राफिक व्यवस्थापन ‘अनेरुवा गाईके राम रखबार ’ भने जस्तै बनेको स्थानीयहरुको गुनासो छ । महेन्द्र चोकबाट मालपोत हुँदै जनकपुर भिठ्ठामोड सडक प्रत्येक दिन बिहान ८ बजेदेखि राति ८ बजे सम्म पुर्णतः जाम नै रहने गरेको गुनासो जनता समाजवादी पार्टीका महोत्तरी जिल्ला सचिव महेश यादवको छ । उनी भन्छन– ‘ यो त एउटा सडकको उदाहरण मात्र हो, जलेश्वर बजारको कुनै पनि सडकमा सहजै पैदल समेत हिंड्न सकिन्न, तर कोही पनि छैन, कानुनी कारवाही गर्ने, न त ट्राफिक प्रहरीलाई मतलब छ न त नगरपालिकालाई नै । ’ ‘ट्राफिक प्रहरीले कहिले लाईसेन्सको बहाना, त कहिले कुन बहानामा सर्वसाधारणसंग असुली गर्न नै फुरसत छैन, उनीहरुले कानुनको पालना गराउँला भन्ने आशा राख्नु नै बेकार छ । ’ स्थानीय व्यापारी राकेश साहको भनाई छ । अव्यवस्थित पार्किंगकै कारण पसल अगाडि नै सवारी पार्क गरिँदिँदा ग्राहकलाई समेत असजिलो हुने गरेको दुखेसो पोख्दै उनले भने—‘ यहि महेन्द्रचोकमा यहाँकै व्यापारीहरुलाई मोटरसाईकलको साँचो राख्न लगाईदिएर ट्राफिक पुलिसले पैसा उठाउँछन, लामो समय सम्म सडक पुर्णतः जाम नै हुने गरेको छ तर खोई कोही छैन कसैले सुन्दैन । ’

नगरपालिकाले ट्राफिक व्यवस्थापनमा सहयोग नगरेको ट्राफिक कार्यालय जलेश्वरका ईन्चार्ज दिपेन्द्र पाण्डेको गुनासो छ । ‘ नगरपालिकाले नगर प्रहरी परिचालन गर्नु प¥यो ,सडकपेटीमा संचालित ठेलाबालाहरुलाई हामीले लखेट्ने गरेका छौं तर नगरपालिकाले पुनः उनीहरुलाई ठाउँ दिने गरेका छन , यस सम्बन्धमा मेयर साहेबलाई भेट्न खोज्दा उहाँसंग भेंट नै हुँदैन । ’— ईन्चार्ज पाण्डेले भने । जलेश्वरको ट्राफिक अवस्था दयनीय बनेको स्वीकार गर्दै मेयर रामशंकर मिश्रले ट्राफिक प्रहरीलाई कानुनको पालना गराउन हामीले कहाँ रोकेका छौं भन्ने प्रतिप्रश्न गरे । उनले निर्माण कार्यमा वर्षाले भईरहेको ढिलाईले गर्दा समेत ट्राफिक समस्या धेरै देखिएको बताउँदै मिनाबजार रहेको ठाँउमै दुई तल्ले संरचना निर्माण गरि पार्किंगको व्यवस्थापन गर्ने योजना बनाईसकेको जानकारी दिए । ‘भारतको चित्रकुटमा सडकपेटीमै गाई साँढेहरु घुमिरहन्छन सवारीहरु घण्टौ सम्म प्रतिक्षा गर्नु पर्ने हुन्छ अनि जलेश्वरमा पनि हामीले गाईलाई नियन्त्रण गर्ने कुरा बिर्सिसेका छौं । ’ — उनले स्पष्ट पारे । छाडा गाई वस्तुको कारणले समेत जलेश्वरका सडकहरुको ट्राफिक व्यवस्थालाई अस्त व्यस्त पार्ने गरेको तथ्यलाई नकार्न मिल्दैन । ‘जहाँ सम्म नगरप्रहरीको कुरो छ उनीहरुलाई सर्वसाधारणहरुले टेर्दै टेर्दैनन्, अहिले पनि सर्वसाधारणहरुले ट्राफिक तथा पुलिसहरुको वर्दि देखेर धेर–थोर डराउने पनि गरेका छन त्यसैले ट्राफिक व्यवस्था चुस्त दुरुस्त बनाउन ट्राफिक प्रहरीले कानुनको पालना गर्न गराउन तर्फ केन्द्रित हुनु पर्छ , र कानुनको पालना गराउन कुनै पनि निकायले रोक्नै सक्दैन । ’ – मेयर मिश्रले स्पष्ट पारे ।

‘ट्राफिक प्रहरीले जस्तो नगरपालिकाले सहयोग गरेन भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिन मैले मिल्दैन , बजारको यस हालतको म पुर्ण जिम्मेवारी लिन्छु तर एक अर्का माथि दोष लगाउनु भन्दा पनि आप्mनो काम ईमान्दारी पुर्वक गर्न सक्नु प¥यो ’ –मेयर मिश्रको धारणा छ ।

Comment


Related News

Latest News

Trending News