अपडेट 
२०७८ भाद्र १८, शुक्रबार ०७:३१

मलगंवा । सर्लाहीको पूर्व–पश्चिम राजमार्गमा रहेको खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ ।

चौबिसै घण्टा ब्यस्त रहने उक्त राजमार्गमा बनेका खाल्डाखुल्डी मर्मतका लागि सम्वन्धित निकायले चासो नदिएको सवारी चालकहरुले गुनासो गरेका छन् । लालबन्दी नगरपालिका–१७, रानीगन्ज चौकदेखि केही मिटर पश्चिमतर्फ राजमार्गमै ठूलो खाल्डो परेपछि सवारी दुर्घटना नहोस् भनेर स्थानीयले ढुङ्गाले घेरेर राखेको छ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको लालबन्दी, नवलपुर, हरिवन, बागमती लगायतका स्थानमा खाल्डो परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख केदार दोङले पछिल्लो समयका अधिकांश दुर्घटना खाल्डाखुल्डी छल्नेक्रममा भएका पाइएको बताए । उनले राजमार्गसँगैको पुलहरु पनि गाडी गुडाउनै नमिल्ने अवस्थामा पुगेको बताएका छन् । हरिवन र नवलपुरको बिचमा पर्ने चापिनी पुल अत्यन्त जीर्ण अवस्थामा पुगिसकेको छ । राजमार्गमा तीव्र गतिमा सवारी साधनहु गुड्ने हुँदा खाल्डाखुल्डीकै कारण अनियन्त्रित भएर दुर्घटनामा पर्ने गरेको स्थानीयहरुले बताएका छन् । राजमार्गका खाल्डाखुल्डी साउन अन्तिमतिर मात्रै टालटुल पारिएको थियो । राम्रो सँग काम नगरिएकाले पुनः भत्किएको छ । उता सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नरेश प्रसाद केशरीले कार्यालयलाई खाल्डाखुल्डी पर्दा पुर्ने जिम्मेवारी मात्रै रहेको र खाल्डाखुल्डी परेको स्थानहरुमा पटक–पटक पुर्दै आइरहेको बताए । उनले राजमार्ग मर्मतका लागि विश्व बैङ्कमार्फत ठेक्का लागेको तर ठेकेदारले काम नगरेकाले सम्भावित दुर्घटनालाई मध्यनजर गरी कार्यालय आफैले काम गर्दै आइरहेको बताए ।

प्रमुख केशरीले बागमती क्षेत्रमा धेरै नै खाल्डाखुल्डी परेकाले टालटुलको काम गर्दा इमोल्सनको अभाव भएको र अब तत्कालै त्यसको व्यवस्था गरी पानी पर्न रोकिएको मौका पारेर खाल्डो पुर्ने काम अघि बढाइने बताए ।

Comment


Related News

Latest News

Trending News