अपडेट 
२०७८ भाद्र १८, शुक्रबार १५:३९

लहान : बलान नदीले सिरहातर्फ बहाव परिवर्तन गरी जग्गा कटान गर्न थालेपछि स्थानीयवासीमा त्रास बढेको छ । वर्षासँगै आएको बाढीले पानीको बहाव परिवर्तन गरी लहान नगरपालिकाको विभिन्न स्थान र सखुवानन्कारकट्टी गाउँपालिका–४ सिमरहातर्फ कटान गर्न थालेपछि स्थानीयवासीमा त्रास बढेको हो ।

बलान नदीको बहाव परिवर्तन गरी पश्चिमबाट बग्ने खतरा बढेपछि पश्चिमतर्फका दर्जनौँ गाउँ डुबानमा पर्ने भन्दै स्थानीयवासी त्रसित बनेका हुन् । अविरल वर्षाले बलान नदीमा बाढीको चाप बढेर पानीको बहाव बढेकाले खतराको सम्भावना बढ्दै गएको सखुवानन्कारकट्टी गाउँपालिका–४ सिमरहाका सुरेश यादवले बताए ।

बाढीको चाप यस्तै रहयो भने पश्चिमतर्फबाट बग्न धेरै समय नलाग्ने र नदीको मुखैमा रहेको सिमराहा, सखुवा, पोर्ताहा, परिहारपुर तिलेबोनालगायत गाउँ डुबानमा पर्ने जोखिमका कारण रातिमा जग्राम बस्नुपरेको स्थानीयवासीको भनाइ छ । तत्काल नदीको बहाव दक्षिणतर्फ गर्ने गरी वैकल्पिक व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

बलान नदीले कटान गर्ने समस्या विगत लामो समयदेखि रहे पनि सङ्घीय र प्रदेश सरकारबाट समाधानको लागि कुनै पहल नहुँदा यस्तो अवस्था आएको सखुवानन्कारकट्टी गाँउपालिकाका अध्यक्ष केदारनाथ यादवले बताए । यसको दीर्घकालीन समाधानको लागि प्रदेश र सङ्घीय सरकारलाई पटक पटक पत्राचार गरे पनि समस्याको दीर्घकालीन समाधान हुन नसकेको उहाँको गुनासो छ ।

बलान नदीले लहान नगरपालिकाको–३, १७, १९ र २३ नं मा कटान गरिरहेको छ भने सखुवानन्कारकटी र भगवानपुर गाउँपालिकाका वडामासमेत तीव्र कटान गरिरहेकाले तत्काल रोकथामको व्यवस्था मिलाउनुपर्ने स्थानीयवासीले बताएका छन् । बलान नदीको बाढीले बर्सेनि लहान नगरपालिकाको २३, सखुवानन्कारकट्टी गाउँपालिकाको ४ र ५ तथा भगवानपुर गाउँपालिकाको २, ३, र ४ नं वडामा सयौँ बिघा जमीन कटान गरी किसानलाई सुकुम्वासी बनाउँदै आएका छन् । रासस

Comment


Related News

Latest News

Trending News