अपडेट 
२०७८ भाद्र १९, शनिबार ०६:५६

लहान । सिरहाका एक युवकको भारत बिहारको मधुवनी जिल्लामा पर्ने सिमावर्ती बजार जयनगरमा हत्या गरिएको छ ।

हत्या गरेर फालिएको अवस्थामा शुक्रबार उनको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुवास बुढाथोकीका अनुसार गोलबजार नगरपालिका ४ का ४० वर्षीय दुखरण महराको शव भारतीय बजार जयनगरमा फेला परेको हो । धारिलो हतियारले घाँटी रेटिएको र शरिरको विभिन्न भागमा चोट लागेको अवस्थामा महराको शव फेला परेको उनले बताए । महरा मृत फेला परेको स्थानमा एउटा डायरी समेत भेटिएको छ । उक्त डायरीमा रहेको नम्बरको आधारमा नेपाली भएको भन्दै भारतीय प्रशासनले सिरहा प्रहरीलाई खबर गरेको थियो । प्रहरीले बुझ्दै जाँदा मृतक व्यक्ति गोलबजारको भएको पुष्टि भयो । महराको शव जयनगरकै एक अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार मोटरसाइकल किन्ने भन्दै महरा रुपैयाँ बोकेर घरबाट निस्केका थिए । महराका छोरा बिमल भन्छन्, ‘मोटरसाइकल किन्न रुपैयाँ बोकेर हिड्न लागेका बुवाको आमासँग विवाद समेत भएको थियो । तरपनि उहाँ घरबाट निस्किनुभयो । राति फर्किनुभएन । आज घटनाबारे थाहा पाए ।’ रुपैयाँकै कारण उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

महराको शव ल्याउने विषयमा भारतीय प्रशासनसँग समन्वय गरिरहेको सिरहा प्रहरीले जनाएको छ । मृतक महराको श्रीमती, तीन छोरा र एक छोरी छन् । उनको हत्या भएको खबर पाएपछि घरमा रुवाबासी चलेको छ ।

Comment


Related News

Latest News

Trending News