
लालबन्दी । सर्लाहीको लालबन्दीबाट शुक्रबार बिहानै एक थान पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोली सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प हरिवनबाट डीएसपी दीपेन्द्र थापाको कमाण्डमा खटिएको गस्ती टोलीले उक्त पेस्तोल र गोली बरामद गरेको हो । शुक्रबार बिहान साँढे ५ बजेतिर लालबन्दी नगरपालिका–५, स्थित रेल्वे ट्रयाकको जरुवा पानी नजिकबाट हतियार बरामद गरेको हो । प्रदेश नं. ०२–०२– ००४ प ७७५७ नम्वरको अपाचे मोटरसाईकमा रहेका चालक गस्तीमा रहेको सुरक्षाकर्मीलाई देख्नासाथ फरार भएका थिए । सशस्त्र प्रहरीले उक्त मोटरसाइकल चेकजाँच गर्दा लेगगार्डमा झुण्ड्याएर राखेको झोलामा कपडाभित्र लुकाएर राखीएको एक थान कटुवा पेस्तोल र उक्त पेस्तोलमा लाग्ने चार राउण्ड गोली बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गंगाराम श्रेष्ठले जानकारी दिए । बरामद भएको हतियार र मोटरसाइकल थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लालबन्दीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । मोटरसाईकल छाडेर फरार रहेका मोटरसाइकल चालकको खोजी सुरु गरिएको लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताए ।