अपडेट 
२०७८ भाद्र १९, शनिबार ०७:३६

गरुडा । रौतहटमा एक वर्ष भित्रै दुई एसपी विवादमा तानिएका छन् ।

प्रहरी हिरासतमा प्रहरीको कुटाईबाट एक दलित युवाको मृत्यु हुँदा प्रहरी उपरीक्षक (एसपी) रविराज खड्का विवादमा तानिएको एक वर्ष नबित्दै अर्का एसपी शिद्धि विक्रम साह पनि विवादमा तानिएका छन् । एक वर्ष अघि प्रहरी हिरासतमा निरन्जन रामको मृत्यु भएपछि विवादित बनेका एसपी रविराज खड्कालाई जिल्ला छाडनु परेको थियो । त्यस्तै लागूऔषध काण्डमा मुछिएका अहिलेका एसपी शिद्धि विक्रम साहलाई पनि जिल्ला छाड्नु परेको हो । पत्रकार एमडी मोजिबुल्लाहलाई लागूऔषधमा फसाउन सघाएको बारे अडियो सार्वजनिक भएपछि एसपी शाहलाई छानविनका लागि हेडक्र्वाटर तानिएको छ । घटनाका मुख्य योजनाकार पत्रकार संजय सहनी र एसपी शाहबीचको अडियो सार्वजनिक भएपछि यस घटनामा एसपी शाहको प्रत्यक्ष संलग्नता रहेको प्रमाणित भएपछि अनुसन्धानका लागि उनलाई हेडक्र्वाटर तानेको दुई साता भइसकेको छ ।

उनको ठाउँमा अर्का एसपी नआउँदा जिल्ला प्रहरी कार्यालय रौतहटको कमाण्ड प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमोरीयाले निमित्त भएर सम्हाल्दै आएका छन् । एसपी शाह प्रहरी हेडक्र्वाटर काठमाण्डु तानिएपछि दुई सातादेखि रौतहट जिल्ला एसपी विहीन रहेको छ । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटमा जानको लागि प्रहरी प्रधान कार्यालयले केही एसपीलाई भनेपनि अस्वीकार गरेका छन् । एसपी शाहको ठाउँमा अर्का एसपीहरुलाई पठाउन खोज्दा रौतहट आउन नमानेको समाचार स्रोतको भनाइ छ । एक वर्षमै दुई जना एसपी रौतहटमा विवादमा परेपछि अरु एसपीले रौतहट आउन चासो नलिएको जानकारहरुको ठम्याई छ । मोजिबुल्लाह काण्ड हुँदा एसपी शाह विदामा रहेका थिए भने डिएसपी चिमोरिया जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए । त्यसैले डिएसपी चिमोरियालाई पनि पत्रकार मोजिबुल्लाह काण्डमा छानबिनको दायरामा ल्याउनुपर्ने रौतहटका पत्रकारहरुले माग गर्दै आएका छन् । नेपाल पत्रकार महासंघ रौतहट शाखाले एसपी शाह र डिएसपी चिमोरिया दुबैलाई कारवाहीको दायरामा ल्याउन माग गरेपनि अहिलेसम्म डिएसपी माथि कुनै छानविन नभएको भन्दै जिल्लाका पत्रकारहरु असन्तुष्टि जनाएका छन् । घटना छानविनका लागि प्रहरी प्रधान कार्यालय देखि लिएर विभिन्न निकायले छानविन टोली गठन गरेपनि अहिलेसम्म कसैले पनि निष्कर्ष निकाल्न सकेको छैन् । एसपी शाहकै निर्देशनमा मोजिबुल्लाहको मोटरसाइकलमा लागूऔषध राख्न लगाएर फसाउने षडयन्त्र रचेका जिल्ला प्रहरी कार्यालयका दुई जना घुमुवा प्रहरी निलम्वित भइसकेका छन भने लागूऔषध राख्ने अन्य दुई जना व्यक्ति पक्राउ परिसकेका छन् । अपराध नियन्त्र गर्ने र नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी पाएका प्रहरी जस्तो एक जिम्मेवार निकायबाट पत्रकारलाई फसाउने कार्य हुनु दुर्भाग्यपूर्ण रहेको नागरिक समाजका अगुवाहरु बताउँछन् ।

समाजमा अमनचैन र शान्ति सुरक्षामा खटेका एसपी जस्ता प्रहरी संगठनका एक जिम्मेवार व्यक्तिले यस किसिमको कार्य गर्नु दुर्भाग्यपूर्ण रहेको भन्दै आलोचना भएको छ ।

Comment


Related News

Latest News

Trending News