
गरुडा । रौतहटको इलाका प्रशासन कार्यालय गरुडामा वर्षौंदेखि रहेको कर्मचारी अभावले सेवाग्राही सास्ती भोग्न बाध्य भएका छन् ।
कर्मचारी अभाव भएपछि यहाँ सेवा प्रवाहमा निकै समस्या भएको छ । कर्मचारी अभावका कारण इलाका प्रशासन कार्यालय गरुडामा सरकारी सेवा लिन स्थानीयवासीलाई घण्टौं कुनुपर्ने बाध्यता भएको छ । कर्मचारी अभावका कारण लामो लाइन बस्दा पनि समयमा काम नहुने गरेको सेवाग्राहीको गुनासो रहेको छ । इलाका प्रशासन कार्यालय गरुडामा कार्यालय प्रमुख अर्थात निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ७ जनाको दरबन्दी रहेकोमा ५ जना कर्मचारी मात्र कार्यरत छन् । ७ जना कर्मचारी मध्ये ६ जनाको दरबन्दी खाली छ । दरबन्दी खाली रहेको ठाउँमा काजमा कर्मचारी खटिरहेका छन् । पाँच जना कर्मचारी कार्यरत रहेकोमा दरबन्दी अनुसारको एक जना मात्र स्थायी कर्मचारी रहेका छन । दुई जना काजमा खटिरहेका छन भने दुई जना करारमा काम गर्दै आएका छन् । एक जना निमित्त प्रमुख प्रशासकीय अधिकृत, तीन जना नायब सुब्बा, एक जना कम्प्युटर अपरेटर र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । एक जना मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रहेको भएपनि स्थायी कर्मचारी नहुँदा जिल्ला प्रशासन कार्यालय रौतहटमा दरबन्दी कायम रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राम स्वार्थ राय यादवले इलाका प्रशासन कार्यालय गरुडाको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
त्यस्तै तीन जना नायब सुब्बाको दरबन्दी रहेको मध्ये दुई वटा रिक्त छ । तीन जना सुब्बाको ठाउँमा एक जना मात्र कार्यरत रहेका छन् । एक जना कम्प्युटर अपरेटरको दरबन्दी पनि रिक्त नै हुँदा काजमा कर्मचारी खटाइएको इलाका प्रशासन कार्यालय गरुडाले जनाएको छ । त्यस्तै कार्यालय सहयोगीको दुईवटा दरबन्दी रहेको छ । तर दुवै दरबन्दी रिक्त भएपछि करारमा नियुक्त गरेर कामकाज सञ्चालन गरिरहेको इलाका प्रशासन कार्यालय गरुडाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले बताए । दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवाग्राहीका कामकाजमा समस्या उत्पन्न भएको कार्यालय प्रमुख यादवले बताए । चाँडो काम गराउने आश लिएर सेवाग्राही कार्यालय खुल्नुअघिदेखि नै लाइनमा बस्ने गर्छन् । तर दिनभरि लाइन बस्दा पनि काम नभएपछि निराश भएर सेवाग्राही घर फर्किनुपर्ने बाध्यता रहेको उनले बताए । लामो समयदेखि विभिन्न दरबन्दीका कर्मचारी नहुँदा काम गर्नमा समस्या भइरहेको उनको भनाइ छ । ‘सेवाग्राही दिनभरि लाइन बसेका हुन्छन्, फाँटमा तोकिएको दरबन्दीका कर्मचारी नहुँदा साँझपख रित्तो हात फर्किन बाध्य हुने गरेका छन्, ’ उनले भने । पछिल्लो समय इलाका प्रशासनमा नयाँ नागरिकता तथा प्रतिलिपि लिनका लागि आउने सेवाग्राहीको संख्या अत्याधिक रहेकाले तोकिएका कर्मचारी अभावका कारण काममा समस्या हुँदै आएको कार्यालय प्रमुख यादवले बताए । ‘हामीसँग कर्मचारी अभाव छ, कर्मचारी हुँदाहुँदै कसैको काम रोकेका छैनौं, कर्मचारी नभएपछि कसरी काम गर्नु, समस्या नै छ,’ उनले भने । गरुडामा इलाका प्रशासन कार्यालय स्थापना भएको चार वर्ष भइसकेको छ तर अझै दरबन्दी अनुसारको कर्मचारी सरकारले परिपुर्ति गर्न सकेको छैन । इलाका प्रशासन कार्यालय गरुडाबाट चारवटा स्थानीय तहका नागरिकले सेवा लिदै आएका छन । गढिमाई र माधवनारायण नगरपालिकाका १ देखि ९ सम्मका सम्पुर्ण वडा, गरुडा नगरपालिकाका वडा नं. १ देखी ८ सम्म र देवाही गोनाही नगरपालिकाका वडा नं. ९ धरहरीका बासिन्दाहरुले जिल्ला प्रशासन कार्यालय गौरबाट प्राप्त हुने सम्पुर्ण सेवाहरु इलाका प्रशासन कार्यालय गरुडाबाट नै लिने गरेका छन् । इलाका प्रशासन कार्यालय गरुडाबाट गएको तीन महिनामा ९ सय ७२ जनाले नयाँ नागरिकता लिएका छन् भने ४ सय २५ जना नागरिकताको प्रतिलिपि लिएका छन् । आर्थिक वर्ष २०७६÷०७७ को तुल्नामा आर्थिक वर्ष २०७७÷०७८ मा नागकिरता लिनेको संख्या बढी रहेको देखिएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा २ हजार ७९ जनाले नयाँ नागरिकता लिएकोमा आर्थिक वर्ष २०७७÷०७८ मा २ हजार ७ सय ६१ जनाले नागरिकता प्राप्त गरेको इलाका प्रशासन कार्यालय गरुडाले जनाएको छ ।