
जीतपुर । बाराको आन्तरिक पर्यटन पुर्नउत्थानका लागि बिशेष योजना ल्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
बाराको सिमरामा शुक्रबार भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सरोकारवालाहरुले बिशेष प्याकेजका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । सिमरादेखि पोखरा सम्मको हवाइ भाडा व्यवस्थापन गर्न एयरलाइन्स कम्पनीसँग छलफल भएको गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बताए । मन्त्री शर्माले पर्यटकको आकर्षण बढाउँन सिमरा पोखरा हवाइ उडान बारे भाडाका सम्बन्धमा पुर्न बिचार गर्ने कुरा भएको जानकारी दिए । पर्यटन प्रवद्र्धन गर्न जागरण प्रशिक्षणको आवश्यक्ता औँल्याउँदै यस जिल्लाको ऐतिहासिक महत्वको क्षेत्र सिम्रौनगढलाई युनेस्कोको पुरातात्विक महत्वसँग जोड्नु पर्ने कुरामा मन्त्री शर्माले जोड दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई पोखरा भ्रमणको लागि विशेष निमन्त्रणा पत्र पठाएका छन् । यसैबिच, आन्तरिक पर्यटन प्रवद्र्धन पुर्नउत्थानको निम्ति बारा आएको टोलि शुक्रबार पोखरा फर्केको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा आपुर्ती मन्त्री शर्माको नेतृत्वमा बारा आएको टोलीले तीन दिन बसेर पोखरा फर्किएको हो । टोलीले बारा र पर्साको पर्यटकीय, धार्मिक एवं औद्योगिक क्षेत्रको भ्रमण गरेको थियो । पर्सा राष्ट्रिय निकुञ्जबाट भ्रमण थालेको टोलीले बिश्वप्रसिद्ध महागढिमाई मन्दिर, पर्साको घडिहर्वा पोखरी, ड्राईपोर्ट, गहवामाई मन्दिर र सिमरा सेज भ्रमण गरेको थियो । सो क्रममा टोलीलाई वीरगञ्ज उद्योग वाणिज्य संघले स्वागत समेत गरेको थियो । तीन दिन बारा र पर्सा भ्रमण गरेर पोखरा फर्किएको टोलीले पोखरा भ्रमणको लागी नाटाले प्रदेश २ लाई निमन्त्रणासमेत गरेको छ ।
सिमरा पोखराको टिकट दर ४ हजार सात सय ७०, पाँच हजार दुई सय सत्तरी र सात हजार एक सय सत्तरी गरी तीन प्रकारको टिकट दर कायम गरिएको बुद्ध एयरले जनाएको छ ।