लालबन्दी । नेपाल निजामती कर्मचारी युनियन सर्लाहीले जिल्ला अस्पताल मलंगवाका बिरामीहरुलाई शनिबार फलफूल वितरण गरेको छ ।
जिल्ला अस्पतालमा भर्ना भई उपचार गराईरहेका बिरामीहरुलाई नेपाली काँग्रेस निकट कर्मचारी युनियनको ३१औँ स्थापना दिवसको अवसर पारेर फलफूल वितरण गरिएको युनियनका जिल्ला सदस्य शैलेन्द्र कुमार महतोले बताए । प्रत्येक वर्ष फरक ढंगले स्थापना दिवस मनाउने क्रममा यो वर्ष अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको हो । युनियनका जिल्ला अध्यक्ष कपिलदेव साहको अध्यक्षता तथा जिल्ला अस्पताल मलंगवाका प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डा. नवल किशोर झाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको युनियनका जिल्ला कार्य समितिका सदस्य महतोले बताए । यसैबीच, सदरमुकाम मलंगवामा शनिबार शारीरिक रुपमा अपांगता भएका २० जनाको परिवारलाई राहत वितरण गरिएको छ ।
राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघले जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको प्रमुख आतिथ्यतामा जिल्लाका विभिन्न स्थानका २० जना अपांगता भएका व्यक्तिको परिवारलाई २५ केजी चामलसहित दाल, नुन, तेल, पिठो, चिउरा लगायतका खाद्य सामग्री वितरण गरेको हो ।


