अपडेट 
२०७८ भाद्र २१, सोमबार ०७:१२

जनकपुरधाम । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री रघुवीर महासेठले पार्टी फोडेर माधव नेपालले कानून विपरित नेकपा (एकीकृत समाजवादी) दर्ता गराएकोले सो पार्टी खारेज हुनुपर्ने माग गरेका छन् ।

जनकपुरधाममा आइतबार आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता महासेठले यस्तो धारणा राखेका हुन् । उनले माधव नेपालको पार्टी अवैध रहेकाले खारेज गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा मुद्दा गरेको र सकभर सोमवार नै फैसला हुने बताए । उनले पार्टी खारेज भएमा माधव नेपालसँग माओवादी, काँग्रेस वा उपेन्द्र यादवको पार्टीमा प्रवेश गर्नुको विकल्प नरहने बताए । ‘२०५४ सालमा पनि नेकपा एमाले फुटेर नेकपा माले बनेको थियो’, नेता महासेठले भने, ‘त्यतिबेला विचार र सिद्धान्तको आधारमा पार्टी फुटेको थियो । यस पटक माधव नेपालले पद र प्रतिष्ठाकै कारण पार्टी फुटाए ।’ उनले पद र प्रतिष्ठाका कारण पार्टी फुटाएर माधव नेपाल जनतामा नाङ्गो बनिसकेको टिप्पणी गरे । माधव नेपालकै कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेको प्रसँग उल्लेख गर्दै नेता महासेठले भने, ‘यदि २२ साँसदसहित माधव नेपाल शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको भए दोस्रो पटक संसद विघटन हुने थिएन ।’ पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट ओलीलाई हटाउने षड्यन्त्र गरेकै कारण पहिलो पटक संसद विघटन भएको थियो– उनले भने ।

यस्तै पूर्वमन्त्री लीलानाथ श्रेष्ठले एमाले अहिले पनि देशको सबैभन्दा ठूलो पार्टी रहेको र अगामी निर्वाचनपछि पनि ठूलो पार्टी बन्ने दावी गरे । उनले स्थानीय नेता कार्यकर्तालाई माधव नेपाल अलग भएपछि पार्टी कमजोर भयो भनेर चिन्ता नगर्न सुझाए । उनले भने, ‘अन्नमा दुई÷चार पथ्थर हुन्छ । त्यसलाई फाल्नैपर्छ । त्यही भएको हो ।’ बैठकमा पूर्वमन्त्री एवं नेतृ जुली महासेठ, प्रदेश २ का पूर्व साँसद रामचन्द्र मण्डल लगायतका नेताहरु कार्यकर्ताहरु सहभागी थिए । माधव नेपालको एकीकृत समाजवादी पार्टीमा जानबाट जनप्रतिनिधिलाई जोगाउन एमाले नेताहरु प्रदेश २ का जिल्लाहरुमा केन्द्रीत भएका छन् । यद्दपी धेरै जनप्रतिनिधि एकिकृत समाजवादीको पक्षमा सनाखत गरिरहेका छन् । प्रदेश २ प्रदेश सभामा समेत नेकपा एमाले कमजोर बनेको छ । एमालेका २१ साँसदमध्ये १३ जना एकीकृत समाजवादी रोजिसकेका छन् । स्थानीय तहमा पनि एकिकृत समाजवादी रोज्ने जनप्रतिनिधिको संख्या अधिक देखिएको छ ।

Comment

Related News

Latest News

Trending News