
अमेरिकाले नेपालसँगको एमसीसी सम्झौता संशोधन गर्ने सङ्केत देखाएको छ । नेपालले राखेको चासोलाई सम्बोधन गर्दै अमेरिकाले सम्झौता परिमार्जन गरेपछि राष्ट्रिय सहमतिका आधारमा सम्झौता अनुमोदन गर्ने नेपाल सरकारको तयारी छ ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच चार वर्षअघि भएको उक्त सम्झौता नेपालमा व्यापक विरोध र विवादित भएपछि अमेरिका सम्झौता संशोधन गर्ने पक्षमा आइपुगेको नेपाली पक्षको बुझाइ छ । सोही अनुसार नेपाली पक्षको मागबमोजिम नै अमेरिकाले सम्झौतामा भएका कुन–कुन प्रावधान संशोधन गर्नुपर्ने हो भनेर सोधेको उच्च स्रोतले रातोपाटीलाई बतायो ।
परिमार्जनमार्फत सम्बोधन गर्नुपर्ने विवादित विषयहरू नोट गरेर पठाउन अमेरिकी पक्षले भनेकाले नै नेपालले बुँदामा संशोधन गर्नुपर्ने विषयहरू समेटेर पत्र पठाएको प्रधानमन्त्री शेरबहादुर देउवा निकट स्रोतले बताएको छ ।