जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा एक बृद्ध महिलाको जग्गा जबर्जस्ती अतिक्रमण गरिएको घटना सार्वजनिक भएको छ ।
जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ सखुवाचौककी कौशिला देवीको जग्गा छिमेकी अच्युत राउतले जबर्जस्ती अतिक्रमण गरेको रामसागर महासेठले आरोप लगाए । कौशिलाका श्रीमान् महासेठका अनुसार २८ बर्षअघि १६ धुर १४ कनमा जग्गा खरिद गरेका थिए । जसमा मुखपट्टीको चौडाई २४ फिटमध्ये २१ फिटमा पक्कि घर निर्माण गरी प्रयोग गर्दै आएको र बाँकी तीन फिट जग्गा झ्याल तथा बाटोको रुपमा प्रयोग गर्दै आएको बताए । आफ्नो तीन फिट र सोही जग्गासँग टाँसिएको छिमेकी राउतको चार फिट चौडाइको जग्गा समझदारीमा बाटोकोरुपमा प्रयोग गर्दै आएका थियौंँ, महासेठले भने । अहिले राउतले झ्याल ढोकासमेत बन्द हुने गरी र तीन फिट चौडाईको जग्गा समेत अतिक्रमण गरेर पर्खाल लगाउन थालिएको उनले बताए । आफ्नो जग्गा अतिक्रमण गरेर पर्खाल लगाइरहेकोबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगर, वडा कार्यालय र नगरपालिकामा लिखित निवेदन दिएपनि कुनै पहल नभएको दुखेसो महासेठले सुनाए । प्रशासनिक निकायले सुनुवाई नगरेपछि पत्रकार गुहारेका महासेठले सञ्चारकर्मी समक्ष भने अतिक्रमणकारीले उल्टै कुटपिट गर्ने र घरसमेत भत्काइदिने धम्की दिने गरेको छ ।
प्रहरी प्रशासन र स्थानीय सरकारले समेत सहयोग नगरेको आरोप लगाउँदै उनले भने कहीँ कतैबाट कुनै साथ र सहयोग नपाएपछि तपाईँहरुलाई गुहारेको हुँ, ‘सञ्चारकर्मीहरुलाई महासेठले भने ।’ अच्युतले घरको प्रवेशद्वार समेत थुनिदिएपछि महासेठ दम्पती आफ्नो समस्या सुनाउँदा सुनाउँदै कयौं पटक भक्कानिए पनि । उनीहरुले न्यायको लागि पत्रकारसमक्ष अनुरोध समेत गरे । हाल महासेठको भ्mयाल र प्रवेशद्वार पर्खालले बन्द भएको छ । घरको मुख्य प्रवेशद्वार नै बन्दभएपछि घर प्रवेश गर्न उनीहरुलाई समस्या भएको छ । महासेठ दम्पतीले तत्कालै थप पर्खाल लगाउने काम तत्कालै रोक्न लगाएर न्याय दिलाइदिन सबैमा अनुरोध गरेका छन् ।


