
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफुले कारबाही गरेको माधव कुमार नेपाल सहित १४ सांसदहरू उपस्थित भए सदन चल्न नदिने चेतावनी दिएका छन् ।
बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले १४ जना सांसदलाई साउन २५ गते नै निष्कासन गरिसकेको हुनाले उनीहरु गैरसांसद र गैरसांसदको उपस्थितिमा बैठक बस्नु संसद नियमावली विपरीतभएको बताए। ‘यदि गैरसांसदको उपस्थिति छ भने कुनै पनि हालतमा गैरकानुनी ढंगले सदन प्रारम्भै हुन दिँदैनौं। त्यसको प्रक्रिया अगाडि बढ्दै दिँदैनौं’, ओलीले भने।
प्रतिनिधिसभाको अधिवेशन बुधबार अपराह्न ४ बजेका लागि आह्वान भएको छ । एमालेले संसद बैठकको प्रारम्भमा सभामुखलाई राष्ट्रपतिले संसद बैठक प्रारम्भ भएको पत्र बाचन गर्न दिने र त्यसपछिका कार्यसूचीमा प्रवेश गर्न नदिई सदन अवरुद्ध गर्ने तयारी गरेको छ ।