
नगरपालिकाको कार्यकक्षमा कार्यालय सहयोगीबाट मसाज गराएर चर्चामा आएका धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास मध्यराती जनकपुरमा पिटिएका छन् ।
जनकपुरधाम– १३ ज्ञाननगर गदी टोलबाट मध्यराती मेयर दासलाई स्थानियले कुटपिट गर्दै लखेटेको दावी गरेका छन् । स्थानीय महिलासंग अबेर राती सम्म ‘डेटीङ्ग’ को लागि आवतजावत गर्ने मेयर दासको कुकर्म बारे जानकारी पाएपछि स्थानीयले कुटपिट गरेका थिए । चिया पसल चलाउदै आएकी महिलालाई अभद्र व्यवहार गरेको आरोपमा मेयर दासलाई स्थानियले हातपात लखेटेका थिए । शुक्रबार राती मेयर दासले जनकपुरधाम– १३ ज्ञाननगर गदी टोलकी ४५ वर्षीय चन्द्रकला देवीलाई घरमा प्रवेश गरी कुटपिट गर्न थालेपछि स्थानियले मेयरलाई लखेटेर ज्यान बचाएको पीडित महिलाले बताइन् । महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा युवाहरुको भीडले मेयर दासलाई हातपात गरेको स्थानीयले बताए । मेयर दास चढ्ने नगरपालिकाको प्रदेश २ –०२–००१ झ ००४३ नम्बरको गाडीमा समेत तोडफोड भएको हो । आफ्नो प्रतिष्ठा बचाउन आफुमाथि कुनै प्रकारको घटना नभएको दावी गरेका मेयर दासले जिल्ला प्रहरी कार्यालय धनुषामा सवारी तोडफोड भएको जाहेरी दर्ता गराएका छन् । हातपात र गाडीमाथि तोडफोड गर्ने मध्येका चारजना विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएको प्रहरीले जनाएको छ । मेयर दासले चारजना युवकमाथि मुद्दा दर्ता गराउने प्रक्रियामा गएपछि स्थानीयहरु बुधबार डेलिगेसन लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा पुगेका थिए । उनीहरुले मेयर दास विरुद्ध महिलामाथि दुव्र्यहार गरेको जाहेरी दिएपनि प्रहरीले दर्ता गर्न मानेको छैन ।
स्थानियका अनुसार एक महिलासंग हिमचिम भएका कारण बरम्बार सरकारी सवारी दुरुपयोग गर्दै महिलासंग भेटन आउने गरेका थिए । टोलमा विकृती नफैलाउन स्थानियले मेयर दासलाई यस अघिपनि सचेत गराएको एक युवकले बताए । स्थानियले सचेत गराएपनि मध्यराती महिलाको घरमा मेयर दास आवतजावत गर्दै आएका छन् । टोलमा चिया पसल सञ्चालन गर्दै आएकी चन्द्रकलाले मेयर र महिलाबिचको सम्बन्ध बारे जानकारी पाएपछि मेयरले आर्थिक प्रलोभन दिएको र नमानेपछि कुटपिट गरेको पीडित महिलाले बताइन् । विदेह नगरपालिकाको मेयरमा निर्वाचित भएपछि दास अनैतिक काम गरेर पटक पटक चर्चामा आएका छन् । नगरपालिकाको बजेटमा व्यक्तिगत पलंग खरिद, बाख्रा खरिदमा अनियमितता, कार्यालयमा तेल लगाएर मसाज गराएर विवादित बनेका मेयर दास महिलासंगको हिमचिमका कारण जनकपुरमा स्थानियबाट कुटिएका छन् । महिलालाई र्दुव्यवहार गरेपछि स्थानियबाट कुटिएका मेयर दासलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले संरक्षण दिएका छन् । कार्यालयमा निर्माण भइरहेको कभर्डहलमा विदेह नगरपालिकाको तर्फबाट सहयोग गरेका कारण प्रहरी उपरीक्षक रानाभाटले मेयरको गल्तीलाई ढाकछोप गरी उल्टै स्थानियमाथि मुद्दा दर्ता प्रक्रिया अगाडी बढाएको प्रहरी श्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका एक अधिकृतका अनुसार मेयर र स्थानिय बिचको विवाद मुद्दा दर्ता गर्नै पर्ने अवस्था छैन् । तर, मेयरसंग व्यक्तिगत लाभ लिएका प्रहरी उपरीक्षकले समान्य विषयलाई समेत मुद्दा दर्ता गराएर अन्याय गरेका छन् ।