अपडेट 
२०७८ भाद्र २४, बिहीबार ०७:४९

आज हरितालिका तीज, नेपाली हिन्दू नारीहरुले नाचगान र पूजा उपासना गरेर धुमधामका साथ मनाउँदैछन् ।

हरित अर्थात हरण गरिएकी र आलिकाको अर्थ शखीद्वारा भन्ने हुन्छ । शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ । हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर शखीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेपछि महादेश शिवलाई पतिको रुपमा पाएको स्कन्द पुराणमा उल्लेख छ । विवाहित महिलाले पतिको दिर्घायु तथा अविवाहितले शुयोग्य बर पाउनका लागि अघिल्लो दिन राति अवेरसम्म दर खाएर भोलिपल्ट तीजको दिन निराहार ब्रत बसेर शिवको पुजा गर्ने परम्परा छ ।

भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई लिने गरेका छन् । पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको भन्दै संस्कृतिविदले चिन्ता समेत व्यक्त गर्ने गरेका छन् ।

यसैबीच, यो वर्ष पनि कोरोना भाइरसको महामारीले गर्दा काठमाण्डौको पशुपतिनाथसहित देशभरका शिवालय बन्द भएपछि महिलाहरुले घरमै बसेर पूजा आजा गरिरहेका छन् । महामारीको जोखिम बढ्न सक्ने भन्दै सरकारले धार्मिक स्थल बन्द गरेको छ भने स्वास्थ्य विज्ञहरुले पनि मन्दिर नजान सुझाव दिएको छ ।

Comment


Related News