अपडेट 
२०७८ भाद्र २४, बिहीबार १५:१६

रौतहट । किसानको समस्याका बारेमा सरकारले कुनै चासो नदिएको भन्दै रौतहटका किसानहरु आन्दोलनमा उत्रिएका छन् । किसानलाई सरकारले वास्ता नगरेको भन्दै किसानहरु सडकमा उत्रिएका हुन् । कृषि पेशामा लागेकाहरुको समस्याका बारेमा कुनै पनि निकायले ध्यान नदिएको र दैनिक रुपमा किसानहरु पीडित हुनु परेको कारणले  सडकमा उत्रिएको आन्दोलनकारी किसानको भनाइ छ ।

धानबालीको बेला बजारमा मलको चरम अभाव खेपिरहेका किसानहरुले कृषि सामग्रीको अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका हुन् । रौतहटका बजारहरुमा यूरिया मलको अभाव भएपछि भारतीय बजारबाट खेतीका लागि मलखाद ल्याउँदा सिमानामा सुरक्षाकर्मीले खोसेपछि उनीहरू विराेधमा उत्रिएका हुन्  । मलकाे अभावमा खेती गर्न असम्भव भएको किसानकाे भनाइ छ । आन्दोलनमा हजारौंको सँख्यामा किसानहरु रौतहटमा प्रर्दशन गरेको उपेन्द्र प्रसाद साहले बताउनुभयो ।

नेपाल सरकारले पर्याप्तमात्रामा कुनै पनि मलखादको व्यवस्था नगर्ने तथा कृषकले आफैले समेत अन्य मुलुकबाट ल्याउदा तस्करी गरेको भन्दै कारवाही भोग्नु पर्दा पीडित भएको किसानको दुखेसो छ । समयमा पानी नपर्ने, बाली लगाएपछि बाढी आउने, बाली हुर्कने बेला मलखाद नपाउने, बैंकले किसानलाई ऋृणमा झन्झट गर्ने तथा कृषियन्त्रहरु समेत महङ्गोमा खरिद गर्नु पर्ने अवस्थाका कारण कयाैँ किसानले बिस्तारै पेशा परिवर्तन गर्न थालेकाे देखिएकाे छ ।

बजारमा सर्वसुलभ रुपमा कृषि मलको व्यवस्था, ट्रयाक्टरमा लाग्ने कर खारेज, कृषि बिमा, कृषि ऋृणको व्यवस्था तथा किसानलाई पेन्सनको व्यवस्थाको माग गर्दै किसानहरुले गौरमा प्रर्दशन गरेका छन् । सरकारले किसानका समस्याका बारेमा ध्यान नदिँदा दिन प्रतिदिन खाद्यान्न आपूर्तिको दर बढ्दै गएको तथा तराई मधेशका जग्गाहरुको उर्वराशक्ति तथा उत्पादनमा ह्रास आउन थालेको कृषक बताउँछन् । किसानले आन्दोलनको पहिलो दिन बुधवार रौतहटमा कृषियन्त्रसहित प्रर्दशन गरेका छन् भने अन्य चरणका कार्यक्रमहरु गर्दै जाने आइटी किसान संर्घष समितिले जनाएको छ ।

Comment

Related News