२०७८ भाद्र २४, बिहीबार २२:२७

वीरगन्जको सर्वोत्तम स्टिल उद्योगमा भदौ १० गते फलाम गलाउने भठ्ठी पड्किएर घाइते भएका मध्ये ५ जना मजदुरको उपचारका मृत्यु भएको छ । भारतको पटना स्थित एपोलो अस्पतालमा उपचाररत ६ जना मध्ये ५ जना मजदुरको मृत्यु भएको हो । मृतक सबै ५ जना भारतीय नागरिक हुन् ।

पटनामा उपचारका क्रममा भारतको बिहारका ५२ वर्षिय विनोद पाण्डे , बिहारकै २७ वर्षिय गगन नायक बिहारी , भारतकै उत्तर प्रदेशको खुशीनगरका ३२ वर्षिय धिरु सहनी, उत्तर प्रदेशकै लखनउका ३७ वर्षिय मानस परिदा र लखनउकै ३० वर्षिय रामपुकार यादवको मृत्यु भएको हो ।

पटनाको एपोलो अस्पतालमा उपचारका क्रममा ३ जनाको भदौ १६ गते र २ जनाको भदौ १८ गते मृत्यु भएको जानकारी बिहीबार मात्र पाएको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले बताए ।

मजदुरको मृत्यु भएको सुचना पाएर अन्नपूर्णपोष्टकर्मीले प्रश्न गर्दा पाण्डेले भने ,‘ हो ५ जनाको मृत्यु भएको रहेछ , भदौ १६ गते ३ जनाको र भदौ १८ गते २ जनाको मृत्यु भएको हो , तर यो जानकारी आज (बिहीबार) मात्रै भएको हो ।

घटनाको वास्तविकता लुकाउने प्रयासमा उद्योग

भठ्ठी विस्फोटको घटना ढाकछोपको प्रयासमा शुरु देखि नै लागेको उद्योग व्यवस्थापन पक्षले ५ जना मजदुरहरुको मृत्यु भइसकेको भएपनि आधिकारीक रुपमा जानकारी नै दिन मानेको छैन ।

बिहीबार साँझ उद्योगका महाप्रबन्धक गुरु प्रसाद चौधरीको प्रतिकृया लिन खोज्दा उनी सम्पर्कमै आउन चाहेका छैनन् । उनको मोबाइल नम्बर ९८५१२३७१८७ पटक पटक फोन सम्पर्कमा गर्दा उनले फोन नै काटी दिने गरेका छन् ।

यसअघि घटना भएकै दिन पनि घटनास्थलमा सन्चारकर्मीलाइ समेत जान नदिइ उद्योगको मूल गेटबाटै उद्योग व्यवस्थापनले फर्काइ दिएको थियो ।

त्यसपछि वीरगन्जमै सुविधा सम्पन्न ठूला अस्पतालहरु भएपनि घटनाको वास्तविकता बाहिर सार्वजनिक नहोस् भनेर उद्योग व्यवस्थापनले घटना भएकै दिन ६ जना मजदुरलाइ उपचारका लागि भन्दै रातारात भारतको पटना लगेको थियो ।

घटना भएकै दिन वीरगन्जको अस्पतालमा उपचारत मजदुरले सन्चारकर्मीलाइ उद्योगकै लापरवाहीका कारण भठ्ठी पड्कीएर आगो लागेको रहस्य खोलेपछि त्यहि दिन रातारात ती मजदुर सहित ६ जना घाइतेलाइ रातारात पटना लगिएको थियो ।

स्थानीय प्रशासन पनि उद्योगसंग मिलेको आशंका

घटनाको वास्तविकता लुकाउन उद्योग व्यवस्थापनको प्रयासलाइ स्थानीय प्रशासनले पनि साथ दिएको आशंका गरिएको छ ।

किन कि नेपाली उद्योगमा भएको घटनामा घाइते ५ जना मजदुरको एक साता पहिले नै मृत्यु भएको भएपनि यस बारे स्थानीय प्रशासनले भने सामान्य जानकारी समेत राखेको छैन ।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले ५ जना मजदुरको मृत्यु भएको खबर आफुले पनि सुनेको तर आधिकारीक रुपमा जानकारी आफुलाइ नआएको बताए ।

उनले भने ,‘ मैले पनि मौखीक रुपमा मात्रै सुनेको छु , आधिकारीक रुपमा कसैले मलाइ जानकारी गराएको छैन , अब म यस बारेमा उद्योग व्यवस्थापनसंग बुझ्छु ।

भदौ १० गते उद्योगमा घटना भएपछि वीरगन्जको अस्पतालमा उपचाररत मजदुरसंग आफुले अस्पतालमै भेटेको र त्यसपछि ६ जना घाइतेलाइ उपचारका लागि उद्योग व्यवस्थाप आफैले लिएर गएको उनले बताए ।

त्यसपछि आफुले यस बारेमा अरु थप जानकारी नलिएको पनि उनले बताए ।

वीरगन्ज २२ जगरनाथपुर मनियारी स्थित हालै सन्चानलमा आएको सर्वोत्त्तम स्टिल उद्योगमा भदौ १० गते दिउसो उद्योगकै लापरवाहीका कारण फलाम पगाल्ने भठ्ठी पड्कीएर आगो लाग्दा १५ जना मजदुर घाइते भएका थिए ।

ती मध्ये गम्भिर घाइते ६ जनालाइ नेपालमा उपचार नगराइ उद्योग व्यवस्थापनले उपचारका लागि भदौ १० गते राति नै भारत बिहारको पटना लगेको थियो । अन्य ९ जनाको भने वीरगन्जकै नारायणी बयोधा अस्पतालमा उपचार गरिएको थियो ।

भदौ १० गते घटना भएको दिन वीरगन्जको बयोधा अस्पतालमा उपचारत मजदुरहरुले उद्योग व्यवस्थापनकै लापरवाहीका कारण भएको घाइते मजदुरले खुलाशा गरेका थिए ।

अस्पतालमा उपचाररत घाइते मध्येका एक मजदुरका अनुसार , भदौ १० गते बिलेट उत्पादनका लागि फलाम पगाल्ने भठ्ठामा , कबाडी फलामहरु खन्याउने क्रममा एलपिजी ग्याँस सिलिण्डर पनि परेको त्यहि सिलिण्डर पड्किएर विस्फोट भएको थियो ।

ती घाइतेले भनेका थिए ,‘ भठ्ठामा फलामजन्य कबाडहरु हाल्ने क्रममा कबाडसंगै ग्याँसको सिलिण्डर पनि परयो अनि त्यहि सिलिण्डर पड्किएर भठ्ठा विस्फोट भइ आगोको लप्कामा हामी मजदुरहरु परयौ ।

फलामजन्य कबाडमै सिलिण्डर पनि मिसिएर रहेको तर उक्त सिलिण्डरमा ग्यास नभएको ठानेर आफुहरुले भठ्ठामा हालेको तर सिलिण्डरमा ग्यास भएकाले भठ्ठीमा हाल्ने बित्तिक्कै पड्किएर विस्फोट भएको ती मजदुरले बताएका थिए ।

कबाडी फलामबाट बिलेट उत्पादन गर्दै आएको खुलाशा

नेपालमा रहेका अरु स्टिल उद्योगले बिलेट आयात गरेर फलामको डण्डी उत्पादन गर्दै आएका छन् ।

तर व्यपारिक घराना सौरभ समुहले गत साउन ५ देखि सन्चालनमा ल्याएको देशकै सबै भन्दा ठूलो स्टिल उद्योग सर्वोत्तम स्टिल उद्योगले भने आफै बिलेट उत्पादन गरेर त्यसबाट फलामको डण्डी पनि उत्पादन गर्दै आएको छ ।

उद्योग सन्चालकले फ्रेस फलाम जन्य कच्चा पदार्थबाट बिलेट उत्पादन गर्दै आएको दाबी गरेर प्रचार प्रसार गर्दै आएको छ ।

तर भदौ १० गते घटना बारे सन्चारकर्मीलाइ जानकारी दिने क्रममा घाइते मजदुरले उद्योगले बजारबाट संकलन गरि पुराना खिया लागेका पुराना स्क्रेप (कबाडी फलाम ) खरिद गरेर बिलेट र डण्डी उत्पादन गर्दै आएको खुलाशा गरेका थिए ।

उद्योगकै लापरवाहीका कारण घटना भएको घाइते मजदुरले गरेको खुलाशा , सन्चारमाध्यम मार्फत सार्वजनिक भएपनि घटनाको अनुसन्धानमा स्थानीय प्रशासनले अहिले सम्म चासो नदेखाउनुले उद्योग व्यवस्थापनसंग मिलोमतो रहेको हुन सक्ने आशंका झन बढेको छ ।

Comment


Related News