
जनकपुरधाम । प्रदेश २ का सभामुख सरोज कुमार यादव तटस्थ भएका छन् । जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी मध्ये कुनैमा नरहेको उनले टुडेलाई बताए ।
पुर्व राजपाबाट प्रदेश सांसदमा निर्वाचित भएपछि यादव सभामुख बनेका थिए । सभामुख भएपछि दलको सदस्यता परित्याग गरेका कारण उनी कुनै पनि दलमा आबद्ध भएका छैनन् । दल त्यागेका सभामुख यादवले पुर्व राजपा र संघीय समाजवादी पार्टी समायोजन हुँदा उनले कुनै पनि पक्षमा हस्ताक्षर गरेका थिएनन् । पार्टी समायोजन हुने क्रममा दुवै पार्टीका सांसदहरुले निर्वाचन आयोगमा हस्ताक्षर गरेपनि सभामुखले हस्ताक्षर गरेका थिएनन् । राजपाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएपनि सभामुख पदमा पुगेपछि राजनीति दल त्यागेका कारण जसपा गठनको क्रममा सभामुख यादवले हस्ताक्षर गरेका थिएनन् । जसपामा कुनै रुपले आबद्ध नभएको र प्रदेश सभाको सभामुख रहे सम्म कुनै पनि दलमा आबद्ध हुन नसक्ने भएकोले सभामुख यादव कुनै पनि दलमा नलागि स्वतन्त्र रहेको बताएका छन् । जसपा विभाजन भएपछि सभामुख कुन पक्षमा लाग्ने व्यापक चर्चा भएको थियो । लोसपामा सनाखत नगरेपछि सभामुख जसपामै लागेको चर्चा भएपनि आफू कुनै पनि पार्टीमा आबद्ध हुन नपाउने भएकोले स्वतन्त्र रहेको बताए ।
यादव राजेन्द्र महतो निकट मानिन्छ । महतोकै कोटाबाट उनी सभामुख समेत भएका थिए । पुर्व राजपा र संघीय समाजवादी पार्टी समायोजना भएपछि प्रदेश सभामा ५४ सांसद रहेको जनता समाजवादी पार्टीबाट १६ जनाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।