जनकपुरधाम । जलेश्वर नगरपालिकाले फोहर सडकमै फाल्ने गरेकोले जनकपुरधाम भिठ्ठामोड सडक खण्डको आगेपुर नजिकको क्षेत्र दुर्गन्धित बन्दै बनेको छ ।
ठेकेदारको लापरवाही र जलेश्वर नगरपालिकाको मौनताको कारण सडक क्षेत्र दुर्गन्धित बनेको हो । सडकमै फोहर फालिएको व्यापक गुनासो आउन थालेपछि जनपाका मेयर रामशंकर मिश्रले ठेकेदारको लापरवाहीले गर्दा यस्तो अवस्था आएको बताएका छन् । उनी भन्छन्–‘ हामीले त ठेक्का दिईसकेका छौं यसको व्यवस्थापनको जिम्मा अब ठेक्का लिने कम्पनीको छ यथाशिघ्र यसको व्यवस्थापन सम्बन्धितले गर्नुपर्छ । ’ सबै क्षेत्रबाट गुनासो आएपछि फोहर फालिएको ठाउँको अनुगमन गरेको र यस्तो अवस्था कदापि स्विकार गर्न नसकिने मेयर मिश्राले बताए । उनले ठेकेदारले छिटो फोहर व्यवस्थापन नगरे कारवाही प्रक्रिया अगाडि बढाउने जानकारी समेत दिए । यता फोहर व्यवस्थापनको ठेक्का लिएका प्रकाश पाठकले वर्षाको कारण ल्याण्डफिल्ड साईट निर्माण गर्न समय लागेकोले बाध्यता बश सडक किनारमै फोहर थन्काउनु परेको बताए । उनले भने – ‘वर्षाको कारण निर्माणाधिन ठाँउमा दुई फिट भन्दा धेरै पानी जमेकोले हामीले सोंचेको समयमै काम गर्न सकेनौ त्यसको लागि हामी आफै पनि दुखित छौं । ’ तर भदौ सक्ने बित्तिकै हामीले फोहर व्यवस्थापनको ठाउँ जसरी पनि निर्माण सक्ने जानकारी ठेक्का कम्पनीका संचालक सदस्य पाठकले दिए ।
चारैतिर पानी नै पानीले भरिएको कारण सडक किनार नै एक मात्र विकल्प देखिए पछि हामीले बाध्यताबश यो काम गर्नु परेको दुखेसो समेत पाठकले पोखे । वर्षाको कारणले विभिन्न क्षेत्र प्रभावित हुनु स्वभाविक भएपनि फोहर जस्तो संवेदनशिल कुरोमा जनपा र सम्बन्धित ठेकेदार कम्पनी दुबै ईमान्दार भई काम गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासीहरुको ठम्याई छ ।


