
लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकाकी किशोरी हत्या प्रकरणका अभियुक्तलाई बाल सुधार गृहमा पठाउन जिल्ला अदालतले आदेश दिएको छ ।
लालबन्दी नगरपालिका–१७ रानीगन्जकी प्रियंका भुजेलको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जना अभियुक्तमध्ये कृष्ण साहलाई पूर्पक्षमा बाल सुधार गृह पठाउन अदालतले आदेश दिएको हो । बुधबार सर्लाही जिल्ला अदालतका मुख्य न्यायाधीश ध्रुव कुमार पियाको एकल इजलासले १७ वर्षीय साहलाई अन्तिम फैसला नहुन्जेल पूर्पक्षमा बाल सुधार गृहमा राख्न आदेश दिईएको हो । १४ वर्षीया बालिका प्रियंकाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले रानीगन्जकै १७ वर्षीय कृष्ण साह र १९ वर्षीय अनिस दाहाललाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुविरुद्ध जवर जस्ती करणी र कर्तव्य ज्यान मुद्दा दायर गरेको छ । नाबालकको हकमा २१ दिनभित्र सम्पूर्ण अनुसन्धान सकेर अदालतमा पेश गरिसक्नु पर्ने कानुनी प्रावधान अनुसार लालबन्दी प्रहरीले कृष्णलाई बुधबार अदालतमा पेश गरेको थियो । नाबालक भएकाले नेपालको कानुन अनुसार अभियुक्त साहले दुई तिहाई सजाय मात्रै भोग्नुपर्ने जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ अर्यालले जानकारी दिए । यस्तै, १८ वर्ष कटेकालाई २५ दिनसम्म हिर ासतमा राखेर अनुसन्धान गर्न पाउने भएकाले अर्का अभियुक्त अनिस दाहाललाई पनि केही दिनभित्रै अदालतमा पेश गरिने प्रहरीले जनाएको छ । दाहाल अहिले ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा रहेका छन् ।
रानिगन्ज डाँडाटोल बस्ने राजेश भुजेलकी १४ वर्षीया छोरी प्रियंकाको गत भदौ १ गते राती लालबन्दी नगरपालिका–६, स्थित कालिन्जोर खोलामा गाडिएको अवस्थामा शव फेला परेको थियो । प्रियंका साउन ३१ गते राती साँढे ११ बजेतिर घरबाटै बेपत्ता भएकी थिईन् । अनिस र कृष्णले प्रियंकाको हत्या गरेको स्वीकार गरेका छन् ।