२०७८ भाद्र २६, शनिबार ०७:०२

जनकपुरधाम । मिथिलाञ्चलमा शुक्रबार आस्था तथा निष्ठापूर्वक चौरचनचौठचन्द्र) पर्व मनाइएको छ ।

धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहटलगायतका जिल्लाहरुमा चौरचन पर्व मनाइएको हो । प्रत्येक वर्ष भाद्र शुक्लपक्षको चतुर्थी तिथिमा मनाइने चौरचन पर्व चन्द्रमालाई पूजा गरेर मनाइएको हो । चन्द्रमालाई पूजा गरिने विधि नै चौठचन्द्र अथवा चौरचन हो । व्रत बसेकी व्रतालु महिलाहरू आ–आफ्नो आँगनमा पूजा सामग्री चढाएर चन्द्रमालाई अघ्र्य दिएर यो पर्व मनाएका हुन् । साँझ पख पूजा समाग्री चन्द्रमालाई अर्पण गर्न व्रत बस्ने व्रतालु दिनभर निराहार बसेका थिए । साँझपख चन्द्रमा उदय हुनुअगाडि दिनमा पवित्रताका साथ बनाइएका पूजा र अन्य सामग्री माटोको भाँडामा सजाएर राखिन्छ । चन्द्रमाको उदय भएपछि सर्वप्रथम व्रतालु महिलाले हातमा कुनै फल लिएर चन्द्रमाको दर्शन गर्छिन् र आफ्नो मनमा रहेका सङ्कल्प र आराधनाको मनमनै स्मरण गर्छिन् । त्यसपछि घरका अन्य सदस्यहरू त्यसैगरी फलसहित दर्शन गरेका थिए । तीज पर्व सम्पन्न भएसँगै सुरु हुने यस पर्वलाई मिथिलामा निकै आस्थाका रूपमा लिइन्छ । कृष्ण जन्माष्टमीको १२ दिनपछि यो पर्व मनाइन्छ । छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने यो पर्व हर्सोल्लास र भक्तिका साथ मनाइन्छ । यो पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र भन्ने गरिएको छ ।

यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । सो क्रममा नयाँ माटोको भाँडोमा एक दिनअगाडि जमाइएको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइएको छ । आफ्नो सन्तान र पतिको दीर्घायुको कामना गर्दै यो पर्व मनाइएको हो । चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौठचन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रा, घरमा तयार पारेको पकवान, मिठाई, गाजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा रहेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News