अपडेट 
२०७८ भाद्र २७, आईतवार ०७:२७

प्रतिनिधि सभाको चालु अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले देखाएको चरित्र न त संसदीय छ, न त लोकतान्त्रिक । संसदको अधिवेशन शुरु भएदेखि नै संसदमा जस्तो दृश्यावली देखियो त्यो डरलाग्दो थियो । प्रतिपक्षका सांसद खेतबारीका कान्ला उक्लिन उफ्रे झैं रोष्ट्रममा उक्लिन खोजी रहेका थिए । हातमा लिएका माइकले हिर्काएर सभामुख र अर्थमन्त्रीको टाउको फुटाउन तम्सिएका सांसदलाई मार्शलले नियन्त्रणमा लिंदै थिए । सदन पुरै कुश्तीको मैदान जस्तो देखिएको थियो भने सभासदहरु होस हराएका बिक्षिप्त जस्ता देखिएका थिए । एकजना सांसद पत्रकारसंग भन्दै थिइन, अध्यक्षले हात नसमात्नु भएको भए सभामुख र अर्थमन्त्रीको टाउको फोडी दिने थिएँ । संसदमा यसप्रकारको गतिविधिमा लागेका कानून निर्माताले कस्तो कानून बनाउलान ? सबैले सोच्नु पर्ने बेला आएकोछ ।

दुई तिहाइको जन–अनुमोदनबाट संसदको ठूलो पार्टीको हैसियतमा झरेको एमालेका अहिलेका गतिविधि राजनीतिक होइनन् । यस्तो गतिविधिले एमालेका सांसदहरुको प्रतिष्ठा र हैसियत रहन सक्दैन । मारपीट र कुटपिटका यस्ता प्रतिशोधात्मक गतिविधिले प्रमुख प्रतिपक्षी दल एमालेको मान–सम्मान बढाउँदैन । आफनै गलत निर्णयहरुका कारण अहिलेको अवस्थामा ओर्लिएको पार्टीप्रति कसैको सहानुभूति पनि रहन सक्दैन । यो सत्य हो कि एउटा कम्युनिष्ट पार्टी भएको नाताले एमालेका लागि संसदीय गरिमा र संसदको प्रतिष्ठा जस्ताकुराहरुले कुनै महत्व राख्दैनन् । कम्युनिष्ट पार्टीका लागि संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो । यति हुँदाहुँदै पनि कम्युनिष्टहरु परिवर्तित मानसिकता सहित निर्वाचन लडेर संसदमा आइ पुगेका छन भने यो राम्रो कुरा हो । लोकतन्त्रको पबित्र ठाउँमा आइ सकेपछि उनीहरुले यसको पबित्रताको मर्यादा कायम राख्नु पर्दछ । अहिले त्यो केही देखिएन । उल्टै पार्टीका बरिष्ठ भनिने नेताहरु कुटपिटलाई प्रोत्साहितगरि रहेको देखिए । आपूm जान्ने हूँ र आपूmबाहेक अरु सबै गँवार र नालायक हुन भन्ने हीन भावनाले ग्रस्त एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली स्वयंले नै संसदमा मच्चिएको कुटपिट र मारामारीको जिम्मेवार हुन । उनले जानी जानी प्रतिनिधि सभाका सभामुख र सरकारलाई दुःखदिने मनसायले नियतवश यो नाटक मन्चन गराएका हुन् । यो कुरामा कसैले पनि सन्देह नलिए हुन्छ । रमाइलो कुरा के भने, यही संसद प्रभावकारी नभएको, संसदले सरकारलाई कामगर्न नदिएको जस्ता आरोप लगाएर आपूm प्रधानमन्त्री भएका बेला एमाले अध्यक्ष ओलीले एकपल्ट होइन, दुई दुई पल्ट संसद बिघटन गरेका थिए ।

राष्ट्रपति बिद्या भण्डारीलाई कठपुतली नचाएर ओलीले जुन संसद बिघटन गरेका थिए त्यही संसदलाई अहिले आफनो प्रतिरक्षाका लागि रणभूमि बनाएका छन् । नेपालको संसदीय इतिहासमा यो फरेवीको बिबरण पक्कै उल्लेख हुनेछ । एमाले अध्यक्षका लागि पद ठूलो कुरा भएको छ । मूल्य, मान्यता र मर्यादाको कतै स्थान छैन । राष्ट्रिय चुनाव लोकतान्त्रिक पध्दति अनुसार जितेर आएपनि ओली अध्यक्षताको पार्टी हिंसात्मक मानसिकताबाट प्रभावित छ । उसको यो मानसिकता २०४६ को परिवर्तनपछि पनि देखिदै आएको हो । संसद अवरोधका घटना एमालेका लागि सामान्य थिए नै । अहिलेको अवस्था अझै बिद्रूप देखिएको छ । एमाले अध्यक्ष ओलीका निमेसिसका रुपमा देखिएका छन माधवकुमार नेपाल, जो केही दिन अघिसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बरिष्ठ नेता थिए । अर्का नेता, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’एमालेसंग पार्टी एकीकृत गरेर नेपाल कम्युनिष्ट पार्टीका दुई मध्ये एक अध्यक्ष बन्न पुगेका थिए, लाई ठेगान लगाउन ओलीले अनेक चाल नचलेका होइनन् । तर, उनको दाल गलेन् । अन्ततः सर्वोच्च अदालतको न्यायिक हस्तक्षेपले दुई पार्टी बीचको एकता भङ्ग भयो । माओवादी केन्द्र ओलीबाट अलग्गियो । सरकार प्रमुखका रुपमा ओलीले गरेका अनियमित कामहरुको भण्डाफोर प्रचण्डले नै गरेको हुनाले प्रचण्डप्रति ओलीको दुर्भावना रहनु स्वाभाविक थियो । प्रचण्डले कार्यकारी अध्यक्षका रुपमा नेपाल कम्युनिष्ट पार्टीको ७० औं सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव ‘बमवार्ड दि हेडक्वार्टर’ सावित भयो । प्रचण्डको राजनीतिक प्रस्तावमा भनिएको थियो : सत्तामा रहेको पार्टीभित्र भ्रष्टाचार, विचलन, नोकरशाही शैली, ब्यक्तिवाद, पदीय अहंकार, नैतिक र चारित्रिक स्खलन र जनताबाट अलगावको प्रबृत्ति देखापर्ने खतरा अन्य बेला भन्दा प्रवल हुन्छ ।

यस्ता प्रबृत्तिलाई सच्याउन ब्यापक रुपमा अभियान सञ्चालन गर्नुपर्छ भन्ने राजनीतिक प्रतिवेदनको मार्ग निर्देशनको उपहास गरियो । वाइडबडी बिमान खरीद, सुरक्षण् छापाखाना खरीद र सञ्चार मन्त्रीको टेप प्रकरण, यति होल्डिंग्ससंगको अपारदर्शी र शंकास्पद कारोबार, चिनी आयात घोटाला, कोरोना संक्रमणको नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरीदमा ओम्नी समूहको साँठगाँठ र अनियमितता, बजेट सार्वजनिक गर्नुअघि अति गोप्य राख्नुपर्ने राजस्वका दररेट परिवर्तनलाई चुहाएर विद्युतबाट चल्ने गाडी र चकलेट आयातमा अनियमितता जस्ता प्रकरण सार्वजनिक भए । यस्ता प्रकरणमा मुछिएकाको प्रतिरक्षा गरेर कामरेड के.पी. शर्मा ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नु भयो । प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई गरेको प्रोत्साहन र संरक्षणका बारे नेपाली पत्रकारले समाचार नलेखेका थिएनन् । तर, प्रेसको अवमूल्यन भएको अवस्थामा ती समाचारमा शक्ति नहुनु अस्वाभाविक थिएन । नेपाल कम्युनिष्ट पार्टीको कार्यकारी अध्यक्ष प्रचण्डले कामरेड के.पी. शर्मा ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेको सबिस्तार उठाइदिंदा समाचारको आधिकारिकता पुष्टि भयो । यसबाट अध्यक्ष ओलीको नूर खस्कियो । अहिले जे जति घटनाक्रम संसदमा देखिएको छ त्यो नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र उनका सहयोध्दाहरुप्रति एमाले अध्यक्ष ओलीको क्षोभ प्रदर्शन बाहेक केही होइन । त्यो क्षोभको कुनै अर्थ छैन । अन्ततः सरकारको बजेट संशोधनपारित भएको छ । माता जानकीको कृपाले सांसदले माइकलाई हतियार बनाएर ताक्दा पनि कुनै अर्को सांसदको वा अन्य कसैको टाउको फुटेको छैन ।

संसदीय कारवाही माथि प्रतिपक्षको अतिक्रमण त स्वाभाविक हो । तर, अतिक्रमणको हद हिंसा वा हिंसात्मक आशय पक्कै होइन । संसदमा अहिलेसम्म जे भयो त्यो खेदजनक छ । र, अब जे हुने आशंका छ त्यसले बाटो खोल्ने छैन । सभामुखप्रति एमालेको आक्रोशको पनि कुनै अर्थ छैन । अध्यादेशले जुन बाटो बनाएको थियो, त्यो बाटो हिंडेपछि त्यहीं पुगिने थियो । देशमा चलेको एमसीसी अनुमोदनको बहस संसदभित्र पस्न पाएको छैन । सांसदहरुले समय लगाएर एमसीसी कम्प्याक्टका हरफ हरफ केलाउने हो भने भ्रमहरुको निवारण हुने थियो । सांसदहरुमा त्यो जांगर देखिदैन । बरु, एमसीसीका बिरुध्द उनीहरु खुँडा, खुकुरी, चक्कु, छुरी लिएर सदनभित्र पस्लान भन्ने त्रास फैलिने डर छ । अहिलेको यो संकट बिश्वासको संकट हो । पार्टीहरु बीच बिश्वासको संकट छ । कांग्रेसभित्रको संकट आफनै प्रकारको छ भने कम्युनिष्टहरुको संकट आफनै प्रकारको छ । कतिपयलाई लागेको छ एमसीसी देशलाई क्रिश्चियन बनाउने एजेण्डा हो । कतिपयलाई लागेको छ यो नेपाललाई अमेरिकी दलाल बनाउने एजेण्डा हो । सरकार प्रमुखका रुपमा शेरबहादुर देउवा,आशाका बिपरित, प्राविधिक हिसावले मात्रै प्रधानमन्त्री भएका हुन । उनको नैतिक क्षमता चुकी सकेकोछ, राज्य संचालनका लागि चाहिने आधिकारिकता छैन । उनमा जनताका लागि संघर्षगर्ने हुटहुटी छैन । राष्ट्रिय अनुशासन स्थापितगर्न सक्ने हिम्मत छैन । नयाँ नयाँ समस्या र खतरासंग खेल्ने साहस छैन । उनलाई आध्यात्मिक आभाले पनि ढाकेको छैन ।

प्रधानमन्त्री देउवा सभापतिका रुपमा आफनै पार्टी नेपाली कांग्रेस त निष्पक्ष चलाइ रहेका छैनन् भने अरु कुरा के गर्ने ? उनको आफनै प्रिय चुनाव क्षेत्र डडेलधुरा मात्र उनकै अबिबेकको कारण बिबादमा परेको छ ,भने देश त ठूलो छ । कसरी चल्छ ? नेताहरुले मनलाई कठोर र दृढ बनाएर यो बर्षभित्रै चुनाव गराउन चाहे भने देशमा केही परिवर्तन हुन सक्छ । होइन भने, सत्ताको यो कुचक्र यत्तिकै चलाएर त देश कहीं पुग्दैन । यो निर्मम सत्य हो ।

Comment


Related News

Latest News

Trending News