अपडेट 
२०७८ भाद्र २७, आईतवार ०७:५७

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ ।  आइतबार विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।

शुक्रबारको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा छलफल भएको थियो । नेकपा एकीकृत समाजवादीले प्रतिस्थापन विधेयक ल्याउनुपर्नेमा जोड दिएको छ भने जसपाले फिर्ता लिनुपर्ने अडान राखेको छ ।

यस विषयमा शुक्रबार दिउँसो नेकपा समाजवादी र जसपा निकट कानुनविद्बीच छलफल भएको थियो । उनीहरु पनि एउटा निष्कर्षमा पुग्न नसकेको नेकपा समाजवादीका नेता विरोध खतिवडाले बताए । नेकपा समाजवादी र जसपाले अध्यादेश किनारा नलागी मन्त्रिपरिषद विस्तार गर्न नहुनेमा जोड दिएपछि प्रधानमन्त्री देउवा सकसमा परेका छन् । सरकार बनेको दुई महिना पुग्न एक दिन बाँकी हुँदा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री देउवाले चार मन्त्री र एक राज्यमन्त्रीका भारमा सरकार सञ्चालन गरिरहेको अवस्था छ । शुक्रबार देउवाले नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दुई दुई मन्त्रीको भए पनि नाम दिन आग्रह गरेका थिए ।

बालुवाटार स्रोतका अनुसार अध्यादेश किनारा नलागी सरकारमा सहभागी नहुने नीति अख्तियार गरेपछि तत्काललाई मन्त्रिपरिषद विस्तार रोकिएको छ । साथै मन्त्रालयगत भागबण्डामा पनि सहमति जुटिसकेको छैन । भौतिक पूर्वाधार, परराष्ट्र, सहरी विकास, संघीय मामिला, स्वास्थ्य मन्त्रालयमा  विवाद छ ।

Comment


Related News