
जनकपुरधाम । पुर्ण समानुपातिक लागू र आठ बुंदे सम्झौता कार्यान्वयनको मागसहित मधेशको मुद्दा सम्वोधनका लागि स्वाधिन मधेश वृहत मोर्चा गठन गरिएको छ ।
राम कुमार महतोको नेतृत्वमा रहेको नेपाल सदभावना पार्टी र कैलाश महतोको नेतृत्वमा रहेको स्वाधिन मधेश जनजागरण अभियानले मोर्चावन्दी गर्दै मधेश मुद्दालाई सम्वोधन गराउनका लागि संयुक्त रुपमा देशभरि आन्दोलन गर्ने घोषणा गरेको छ । आइतवार पत्रकार सम्मेलन गरेर नेपाल सद्भावना पार्टी र स्वाधिन मधेश जनजागरण अभियानले मधेशको मुद्दा स्थापित गर्नका लागि एक भएर अगाडी बढ्ने घोषणा गरे । स्वाधिन मधेशका संयोजक कैलाश महतोले राज्यले मधेशमाथि गर्दै आएको विभेदको सिलसिला जारी रहेको बताउदै विगतमा गरेका विभिन्न प्रतिवद्धतालाई समेत पुरा गर्नमा आनाकानी गर्दै आएकोले मोर्चा वन्दी गरेर संयुक्तरुपमा आन्दोलन गर्नुको अर्को विकल्प नरहेको बताए । संयुक्त मधेशी मोर्चा संग तत्कालिन समयमा गिरिजा प्रसाद कोइरालाले सहमति गरेको आठ बुंदेलाई पालना नगरेको र यसलाई पुर्णरुपमा पालना गराउनैका लागि मोर्चा बन्दी गरेको जानकारी दिए । नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले मधेशमा पटक पटक आन्दोलन भएपनि राज्यले बल प्रयोग गरेर आन्दोलनलाई समाप्त पार्दै आएको बताए । आफनै देशमा मधेशीले आफनो अधिकार माग्न खोज्दा बल प्रयोग गर्नु राज्यको विभेदपूर्ण नीति भएकोले अब मोर्चा बन्दी गरेर देशभरि नै शान्तिपुर्ण रुपमा आन्दोलन गर्ने घोषणा गरे ।
पत्रकार सम्मेलनमा नेपाल सद्भावना पार्टी र स्वाधिन मधेश जनजागरण अभियानका देशभरिका प्रमुख नेताहरुको उपस्थिती रहेको थियो ।