अपडेट 
२०७८ भाद्र २९, मंगलवार ०७:४२

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका २ चोराकोयलपुरका वडाध्यक्ष जैसीलाल भिनवार यादवले बलात्कार प्रयासको घटना पञ्चायत मार्फत ५ लाख रुपैयाँमा मिलापत्र गरेको खुलासा भएको छ ।

मिथिला बिहारी नगरपालिका ४ का अन्दाजी ४० वर्षीय प्रदिप यादवले भदौं २३ गते राति मदिरा खाएर चोराकोइलपुरकै तीन घरमा प्रवेश गरेका थिए । रातिको समयमा घरमा प्रवेश गरी महिलालाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि उनलाई स्थानीयले नियन्त्रणमा लिएर भदौं २४ गते पञ्चायत बसेको थियो । पञ्चायतमा घटना मिलापत्र गराउने मुख्य भुमिका वडाध्यक्ष यादवले खेलेको बताइएको छ । उनले आरोपीसँग ५ लाखको तमसुक कागज गराएर घटना मिलापत्र गराएको स्रोतको दावी छ । घटना मिलापत्र गराएपनि पीडित परिवार असन्तुष्ट बनेपछि रहस्य बाहिरिएको हो । घटना बाहिरिएपछि आईतवार ईलाका प्रहरी कार्यालय यदुकोहाका इन्सपेक्टर सम्पित भण्डारीले पीडितहरुलाई बोलाएका थिए । पीडितले वडाध्यक्ष यादव घटना ५ लाखमा मिलाएको बताए । तर इन्सपेक्टर भण्डारी वडाध्यक्ष यादवको बचाउमा लागेका छन् । इन्सपेक्टर भण्डारीले घटना वडाध्यक्षले मिलाएको कुरा अनौपचारिक रुपमा मात्र सुनेको बताए । उनले भने, ‘घटना मिलाएको विषयमा पीडितले केहि बोलेका छैन ।

आरोपीमाथि कानून बमोजिम कारबाहीका लागि पीडितले जाहेरी दिएका छन् । जाहेरी दर्ता प्रक्रियामा छ ।’ पीडितहरुलाई बोलाएर घटनाबारे इन्सपेक्टर भण्डारीले सोधपुछ गरेपछि वडाध्यक्ष यादव डराएका छन् । उनी पीडितहरुलाई सोमवार प्रहरीको सम्पर्कमा जानबाट रोकेको स्रोतले जनायो । तर उनी भन्छन्, ‘ पञ्चायत बसेको थियो । ५ लाखको तमसुक बनाएर घटना मिलाएको कुरा झुठो हो ।’

Comment

Related News