जनकपुरधाम । बढ्दै गएको सडक दुर्घटना न्युनीकरण गर्ने उदेश्यले प्रदेश २ सरकारले प्रहरीलाई ४८ लाख मुल्य बराबरको सडक डिभाइडर हस्तान्तरण गरेको छ ।
भौतिक पुर्वाधार विकास मन्त्रालयले गत आर्थिक वर्षमा खरिद गरेको सडक डिभाइडर मंगलबार एक कार्यक्रमका बीच प्रदेश प्रहरीलाई हस्तान्तरण गरेको हो । भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले प्रदेश २ प्रहरी प्रमुख उमेश रञ्जितकारलाई उक्त समाग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले डिभाइडरले सडक सुरक्षाको साथै सडक दुर्घटना हुनबाट जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । सडक डिभाइडरले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने उल्लेख गर्दै मन्त्री यादवले भने,‘ वर्षेनी सडक दुर्घटनामा सयौको ज्यान जाने गरेको छ भने हजारौ व्यक्ति अंगभंग तथा घाईते हुने गरेका छन्, त्यसकारण यसलाई न्युनीकरण गर्न प्रदेश प्रहरीलाई यो समाग्री प्रदान गरेका छौ ।’ सडक दुर्घटनाका कारण हुने जनधनको क्षति न्युनीकरण गर्न रोड मार्किङ, रेलिङ र ठाउँ ठाउँमा सडक संकेतको आवश्यकता रहेको भन्दै मन्त्री यादवले भने,‘ प्रदेश भित्र रहेका प्रमुख बजार हरूको सडकपेटी अव्यवस्थित र फुटफाट व्यापारीले कब्जा गरेको देखिन्छ । त्यसलाई हटाउनमा प्रहरीले गम्भिरता पुर्वक लाग्नुपर्छ ।’
भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव दिपक कुमार दासको अध्यक्षतामा सम्पन्न कार्याक्रममा भौतिक पुर्वाधार विकास मन्त्री यादवका सल्लहाकार जीवनाथ चौधरी, जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह लगायतको उपस्थिति रहेको थियो ।


