अपडेट 
२०७८ भाद्र ३०, बुधबार १३:०६

रेल सम्झौता संशोधनपछि पहिलोपटक नेपालमा निजी कार्गो रेल आइपुगेको छ । आज भारतबाट सामान बोकेर वीरगन्जमा भारतीय निजी रेल आइपुगेको हो ।

कोलकाताको हल्दिया पोर्टबाट सोमबार हिँडेको रेल आज बिहान ९ बजे वीरगन्ज आइपुगेको हो । योभन्दा अघिसम्म भारतको सरकारी तथा संस्थानका रेल मात्रै नेपाल आउने गरेका थिए । हिन्द टर्मिनल प्रालिको एक र्याकको कार्गो रेल ९० वटा कन्टेनर बोकेर नेपाल आइपुगेको हो ।

असार २५ गते नेपाल–भारतबीच विद्यमान रेलसेवा सम्झौतामा संशोधनको लागि नेपाल–भारत एलओई ९लेटर अफ एक्स्चेन्ज० सम्पन्न भएपछि निजी कार्गो रेल नेपाल ल्याउने बाटो खुलेको थियो । सन् २००४ मा भएको नेपाल–भारत रेलसेवा सम्झौता संशोधनको लागि नेपालले सन् २००९ देखि माग राख्दै आएको थियो ।

यो वर्ष सम्झौता संशोधनमा भारत सहमत भएपछि निजी क्षेत्रको कार्गो रेल नेपाल आएको हो । सम्झौता संशोधनसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतमा रेल सेवा उपलब्ध गराइरहेका सबै अनुमतिप्राप्त कार्गो रेल अपरेटरहरुले अब नेपालको पारवहनका लागि हुने ढुवानीका सेवा दिन सक्नेछन् ।

भारतीय रेल सेवामा सञ्चालनमा ल्याउनका लागि अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनर तथा वागनहरु नेपालको लक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिनेछ । त्यस्तै निजी सेवा प्रदायकले सञ्चालनमा ल्याएका लोकोमोटिभबाट समेत नेपालमा लक्षित ढुवानी हुनेछ ।

अब नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगन्ज र विराटनगरदेखि कोलकाता, हल्दियासम्म रेल सेवा दिन सक्नेछ । आज आइपुगेको कार्गो यसैको उदाहरण हो । साथै नेपालले अहिले वीरगन्जसम्म रेलसेवा उपलब्ध भएकोमा विराटनर भैरहवा, इनरुवामा रेल पूर्वाधार तयार भएपश्चात् रेल सेवा उपलब्ध गराउन माग गरेको थियो ।

नेपाल–भारत पारवहन सन्धिमा व्यवस्था भएअनुसार अन्य पारवहन विन्दुमा तथा द्विपक्षीय व्यापार नाकाहरुमा सहमतिका आधारमा रेल सेवा विस्तार हुँदै जाने उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News