
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अवरोधका कारण राष्ट्रियसभाको बैठक स्थगित भएकाे छ ।
एमालेकाे अवराेधका कारण मुख्य कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हाे । बैठक शुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएपछि तेस्राे कार्यसूचीमा रहेको संविधानसभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक असोज ५ गतेसम्मका लागि स्थगित भएको छ । बुधबारकाे बैठकमा राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने पहिलो कार्यसूची थियो ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने दाेस्राे कार्यसूची रहेकाे थियाे ।