
जनकपुरधाम । तलब भत्ता वृद्धिको माग गर्दै जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र बाल विकास शिक्षकहरुले जनकपुरधाममा प्रदर्शन गरेको छ ।
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको हकहित सेवा सुरक्षा सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला र शिक्षा मन्त्रालयले स्वीकृत प्रदान गरे अनुसारको तलब भत्ताको माग गर्दै बाल विकास शिक्षक र कर्मचारीहरुले बिहीबार जनकपुरमा संयुक्त रुपमा प्रदर्शन गरेको छ । चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयले विद्यालयका कर्मचारी र बल विकास शिक्षक सम्बन्धमा समेत तलबमा स्थानीय तहबाट थप गरि तलब खुवाउन भनि बजेटमा भाषणमा उल्लेख भएकोले सो अनुसारको सेवा सुविधा पाउनुपर्ने उनीहरुको माग हो । विद्यालयमा कार्यरत लेखापालको मासिक १८ हजार ५ सय, बाल शिक्षकको मासिक १५ हजार, विद्यालय कार्यलय सहयोगी १५ हजार रुपैयाँको माग गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र बाल शिक्षकले संयुक्त रुपमा गठन गरेको आन्दोलन परिचालन समितिले आफुहरुको माग पुरा नभएको खण्डमा चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । जनकपुरधाम उपमहनगरपालिका उनीहरुले बुझाएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय धनुषा र शिक्षा विकास तथा समन्वय ईकाय धनुषालाई बोधार्थ समेत गरिएको छ ।