अपडेट 
२०७८ आश्विन १, शुक्रबार ०७:३३

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि संविधान जारी भएको दिन (असोज ३ गते) कालो दिवस मनाउने निर्णय गरेको छ ।

जनकपुरधामस्थित जनमत पार्टीको केन्द्रीय सचिवालयमा भदौं २७, २८ र २९ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले असोज ३ गते कालो दिवस मनाउने निर्णय गरेको हो । मधेस आन्दोलनमा मारिएका शहिदहरुको श्रद्धाञ्जलीसहित उपयुक्त कार्यक्रम गरी असोज ३ गते ‘कालो दिवस’को कार्यक्रमलाई निरन्तरता दिने निर्णय भएको डा. राउतले बताएका छन् । यसअघि नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेपाल सद्भावना पार्टीले पनि असोज ३ मा कालो दिवस मनाउने निर्णय गरिसकेको छ । यस विषयमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी (जसपा) भने कुनै औपचारिक निर्णय गरेका छैन । यस्तै विगतका वर्षहरु जस्तै यसवर्ष जनमत पार्टीले मंसिर १० गते रंगभेदी विरुद्धको एकता दिवस मनाउने निर्णय पनि गरिएको डा. राउतले बताएका छन् । निर्वाचन आयोगबाट केन्द्रीय समितिमा एक तिहाई महिलाको संख्या सुनिश्चित गर्ने निर्देश अनुसार जनमत पार्टीले ३ जना महिला केन्द्रीय सदस्यलाई मनोनित गरेको छ । जनकपुरमा बिहीवार सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले निलम पासवान (रुपन्देही), निशा हरिजन (कपिलवस्तु) र रेखा कुमारी यादव (धनुषा)लाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

Comment


Related News