
जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसरनिया–६ बैरियाका ५० वर्षीय किसान भजु यादव डेढ विग्हामा सोना मंसुली धान लगाएका छन् । नियमित वर्षा भएका कारण धान राम्रै सप्रेको छ । तर समयमा मल हाल्न नसक्दा यादव चिन्तित छन् । मिहिनेत गरी हुर्काएको धान नफल्ने हो की ? पिरले यादव चिन्तामा डुबेका छन् ।
गाउँमा मल उपलब्ध नहुने र सीमा पारी भारतबाट खरिद गरेको मल चोर बाटोबाट ल्याउन नसकेपछि खेतमा हुर्की रहेको धान भगवान भरोसे छोडिएको उनले बताए । गाउँपालिकाले वडामा डिपो तोक्न नसक्दा गाउँमा मल अभाव भएको यादवले बताए । नेपाली काँग्रेस र एमालेका नेताले मलको डिपोका लागि हानथाप गर्दा मुखियापट्टी मुसरनिया–६ वैरियाका किसान मलबाट बञ्चित भएका छन् । दुई पार्टीका नेताहरुले आफना कार्यकर्ताले डिपो पाउनु पर्ने अडान राख्दा किसानले पाउने मल नै आउन सकेन् । बैरीयाबाट नजिकै भारतमा प्रसस्त मल पाइन्छ । सीमामा खटिएका प्रहरीलाई अतिरिक्त रुपैयाँ दिनु पर्ने र प्रहरीले कुटपिट गर्ने त्रासले भारतबाट मल ल्याउन नसकेको उनी बताउँछन् । धनुषामा स्थानिय तहका जनप्रतिनिधिहरु बिच मलको डिपोका लागि विवाद हुँदा किसान मलबाट बञ्चित हुनु परेको छ । मुलुकमा तीन तहको सरकार भएपनि मुसरनिया–६ का भजु यादव जस्ता समान्य किसानलाई कृषि कार्यका लागि कुनै सहुलियत दिन सकेको छैन् । स्थानिय तह, प्रदेश सरकार र संघीय सरकारले कृषि अनुदान र कृषि उपकरण, औजार र मलमा राजनीति दलका कार्यकर्ताको मात्र पहुच रहेको पाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरले कृषि ज्ञान केन्द्रले तोकेको डिलरलाई मल उपलब्ध गराउदै आएका छन् । ज्ञान केन्द्रलाई स्थानिय तहमा मल बिक्रि डिपो छनौट गर्ने व्यवस्था छ । तर स्थानिय उप प्रमुखको संयोजकत्वमा रहेको डिपो छनौट समितिले आफु निकटका व्यक्तिलाई डिपो दिंदा मलको कलोबजारी र किसानले चर्को मुल्य तिरेर मल खरिद गर्न बाध्य भएका छन् ।
स्थानिय तहमा रहेको मल बिक्रि डिपो छनौट समितिमा राजनीति पहुँच हुनेहरु चलखेल गरी डिपो पाउने गरेको छ । धनुषाको मिथिला बिहारी नगरपालिकामा डिपो तोक्न मेयर र उप मेयर बिच विवाद हुँदा महिनौ सम्म स्थानिय मलबाट बञ्चित भएको थियो । मेयर र उप मेयर विवाद जिल्लामा चर्चा पाएको थियो । मिथिला बिहारी जस्तै प्रदेश २ का जिल्लाहरुमा मल बिक्रि डिपोका लागि स्थानिय तहका जनप्रतिनिधि नै विभाजित भएको पाइएको छ । भारतसंगको खुला सीमाना भएका कारण सिमावर्ती क्षेत्रमा भारतबाट लुकाइछिपाइ मल ल्याएपनि दुवै तर्फ प्रहरीलाई घुस दिनुपर्ने बाध्यता छ । कहिलेकाही प्रहरीले घुस लिएरपनि मल नियन्त्रणमा लिने र कुटपिट गर्दा किसान भारत तर्फको मल ल्याउन डराएका छन् । प्रहरीसंग हिमचिम भएका तस्करहरु सीमावर्ती क्षेत्रमा मल तस्करी समेत गर्दै आएको छ । दुबै तर्फका प्रहरीलाई प्रलोभनमा पारेर मल तस्करी गरेर नेपाल ल्याएको मल चर्को मुल्यमा किसान खरिद गर्न बाध्य भएका छन् । आवश्यकता अनुसार मल उपलब्ध नहुदा किसान धानमा मल हाल्न सकेको छैन । रोप्ने र हुर्किएको बेला हरेक वर्ष मलको अभाव हुने गरेको उनीजस्ता आमकिसानको गुनासो हो । कृषि सामग्री कम्पनी लिमिटेडले माग अनुसार किसानलाई मलको आपूर्ति गर्न सकेको छैन । मल नपाउँदा किसान लुकीचोरी भारतबाट ल्याउन बाध्य छन । माग र आपूर्तिको सन्तुलन नमिल्दा मल छर्ने मुख्य सिजनमै युरिया मलको चरम अभाव झेल्नुपरेको छ ।