
महेश बस्नेतले मधेसमा आएर मधेसीलाई झुक्याउने अभिव्यक्ति दिएका छन् ।
जनकपुरमा आयोजित एक कार्यक्रममा उनले मधेसको माग पुरा भएको भनेर अभिव्यक्ति दिएका हुन् । मधेसी, आदिवासी, जनजाती, मुस्लिम लगायतका समुदायको मुद्दा सम्बोधन नभएको भन्दै आईतवार मधेसभर संविधान दिवसलाई कालो दिवसको रुपमा विरोध गरियो । तर नेता बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसको सबै मुद्दा सम्बोधन गरिसकेको र अब वर्तमान सरकारले कार्यान्वयण मात्र गर्नुपर्ने बताए । ठूलो बलिदानी पश्चात देशमा आएको संघीयताविरुद्ध समेत उनले अभिव्यक्ति दिए । संघीयताले देशमा भ्रष्टाचार बढेको उनको भनाई थियो । उनले अब मधेसबाट कसैले पनि एमाले नेतालाई लखेट्न नसकिने दावी गरे । ‘मधेस विरोधी भनेर एमालेलाई बदनाम गरियो । नेतालाई मधेसबाट लखेट्ने काम भयो’, उनले भने, ‘तर त्यो दिन गयो ।
अब कसैले लेखेट्न सकिदैन । मधेस एमालेमय बनेको छ ।’ नेता बस्नेतले अध्यक्ष ओलीकै कारण देशमा नयाँ संविधान बनेको दावी गरे । ‘ भारतको दबाबका कारण काँग्रेस र माओवादी पनि संविधान जारी गर्न चाहेका थिएन’, उनले भने, ‘ भारतका प्रतिनिधि बालकोट पुगेर संविधान जारी नगर्न भनेपछि ओलीले सिधा अस्वीकार गरे । र संविधान जारी गर्न लगाए । त्यसैले अहिलेको संविधानको रक्षा हामीले गर्नुपर्छ ।’