
गौशाला । मधेसका जिल्लाहरुमा चाडपर्वसंगै मेला महोत्सव आयोजना हुदैछ । मेलामा मधेसको परम्परा झल्किने नाच नचाउने चलन छ । मेलामा नाच नचाउने चलन अघिल्लो समय लोप भएको छ । नाचको स्थान महिला नचाउने ‘आर्केस्ट्रा’(सांस्कृतिक कार्यक्रम)ले लिएको छ । भोजपुरी र अन्य अश्लिल गितमा राती ‘ आर्केस्ट्रा’मा महिला नाच्ने प्रबृतीले अपराध बढाएको छ । मेलामा दुई पक्ष बिच झडप समेत भएको छ ।
सांस्कृतिक कार्यक्रम भन्दापनि अश्लिल नृत्यको होडबाजी चलेको छ । समाजले पचाउन नसक्ने महिलाको पहिरण र खुला मञ्चमा महिला पुरुषको अश्लिल नृत्यले उत्तेजित हुने भिडले पटक पटक झडप भएपछि महोत्तरीमा ‘आर्केस्ट्रा’मा स्थानिय प्रशासनले रोक लगाएको छ । विश्वकर्मा पूजाको अवसरमा महोत्तरीको विभिन्न भागमा प्रतिवन्धको अवज्ञा गरी प्रहरी र राजनीति दलका नेताले आर्केस्ट्रा आयोजन गरेको पाइएको छ । स्थानिय प्रशासनको निर्देशन अटेर गरी आयोजना गरिएको ‘आर्केस्ट्रा’मा कुटपिटबाट महोत्तरीको सोनमा गाउँपालिका ७ सुन्दरपुरमा एक जनाको मृत्यु भएको छ । सोनमा–२ इमलिया टोलका ६० वर्षका रामप्रसाद यादवको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ । कुटपिटबाट अन्य २ व्यक्ति घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टका अनुसार शनिबार राति सुन्दरपुरमा आयोजित आर्केस्ट्रामा भएको विवादले उग्ररुप लिएपछि कुटाकुट भएको थियो । नाचगानको क्रममा सुन्दरपुरका स्थानीयले इमलिया टोलबाट गएकालाई अवरोध गरेपछि विवाद सुरु भएको थियो । विवादलाई लिएर आइतबार मध्यान्ह पुनः झगडा भएपछि स्थिति तनावग्रस्त भएको थियो । कुटपिटकै क्रममा मृतक यादवका २४ वर्षीय छोरा मोदनारायण यादव र २२ वर्षीय सरोजकुमार यादव घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ । कुटपिटमा संलग्न ३५ वर्षका मलेसी सदा र २८ वर्षका नखु सदालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय गौशलाका प्रहरी निरीक्षक विष्णुप्रदिप बस्यालले बताए । राती आर्केस्ट्रामा सरोजलाई कुटपिट गरेको कुरा बिहान घरमा जानकारी गराएपछि दाजु मोदनरायणले कुटपिट गर्नेलाई किन कुटपिट गरेको सोध्दा उनलाई पनि कुटपिट गरेपछि सरोज र उनका वुवा छोडाउन जाँदा फेरी कुट्एिका थिए ।
आइतबार बिहान दोहोरो झडपमा ढुंगाले गहिरो चोट लागेर मृत्यु भएको हो । कुटपिटको घटना बारे बुझन गएका प्रहरी चौकी मगरथानाका प्रहरी माथि स्थानियले उल्टै आक्रमण गर्न खोज्दा आइतबार सोनमाको अवस्था तनावग्रस्त बनेको थियो । इलाका प्रहरी कार्यालय गौशाला र आसपासका प्रहरी घटना स्थलमा पुगेर अवस्था नियन्त्रणमा लिएका थिए । आर्केस्ट्रा आयोजना बारे प्रहरी बेखबर रहेको र विवाद चर्केपछि मात्रै जानकारी आएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । यस अघि विश्वकर्मा पूजाको अवसरमा महोत्तरीको विभिन्न स्थानमा आर्केस्ट्रामा नृत्य गर्न भारतबाट आएका ३७ जना कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको थियो ।