
जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले महुली सामुदायिक विकास केन्द्रसँग सहकार्य गर्न सकिने बताएका छन् ।
सप्तरीको अग्निसाइर कृष्ण सावरण ५ बगधुवाको गैरसरकारी संस्था हो महुली सामुदायिक विकास केन्द्र । उक्त संस्थाले मंगलवार भौतिक पूर्वाधार विकास मन्त्रालयकै सभाहलमा प्रदेश स्तरीय साझेदार परामर्श तथा समन्वय कार्यक्रम गरे । उक्त संस्थाले २७ वर्षमा समुदायमा गरेको विभिन्न कार्यको मन्त्री यादवले प्रशंसा समेत गरे । उक्त संस्थाले आइएनजिओ ह्याबिटेटसँगको सहकार्यमा सप्तरीमा गरिब विपन्नलाई बाँसको घर बनाइदिने कार्य गर्छ । जनता आवास कार्यक्रम अन्तर्गत गरिबको घर बनाउँदा लगानी पनि बढी लाग्ने र समयमा घर नबन्दा दलित, गरिब तथा विपन्नहरु झन समस्यामा पर्ने गरेको छ । तर उक्त संस्थाले २० वर्षसम्म टिक्ने बाँसको घर सस्तोमा र समयमा बनाइदिने गरेको कुरा थाहा पाएपछि मन्त्री यादव प्रभावित भए । मन्त्री यादवले संस्थासँग सहकार्य गर्न सकिने भन्दै थप प्राविधिक कुराहरु बुझेर आवश्यक निर्णय लिने बताए । उनले ह्याबिटेटलाई अन्य जिल्लामा पनि उक्त योजना विस्तार गर्न आग्रह गरे । सो कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साहले पनि ४ वटा जिल्लामा मात्र भएपनि १÷१ सय घर बनाउन मन्त्री यादवसँग आग्रह गरेका थिए । महुली सामुदायिक महुली सामुदायिक विकास केन्द्रले सप्तरीमा नमूना काम गरेको भन्दै मन्त्री साहले पनि उक्त संस्थाको प्रशंसा गरे । उनले जनता आवास कार्यक्रम अन्तर्गत घर बनाउदा ४/५ नम्बरको इटा प्रयोग हुने गरेका र समयमा नबन्दा गरिब दलित झन समस्यामा पर्ने गरेकाले बाँसको घर बनाउनु नै उपर्युक्त हुने तर्क गरे । बाँसले बनाइएको घर देख्दा यस्तो गज्जबको लाग्यो कि सोचेको पनि थिएनौं– उनको भनाई थियो । कार्यक्रममा प्रदेश २ का नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले एनजिओमार्फत सामाजिक र आर्थिक रुपान्तर हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘देशभर एनजिओ च्याउ झै उम्रेको छ । तर राम्रो काम गर्ने थोरै छन् । काम गर्नेहरुसँग प्रदेश सरकारले सहकार्य गर्दा हुन्छ ।’ संस्थाका अध्यक्ष रामलगन मण्डलको अध्यक्षतामा भएको उक्त परामर्श कार्यक्रममा चन्द्रनारायण चौधरीले सहजीकरण गरेका थिए । २७ वर्ष अगाडी ३ रुपैयाँका दरले संकलन गरी खोलिएको उक्त संस्था हालसम्म २६ वटा आइएनजिओको सहकार्यमा समाजिक, आर्थिक, सांस्कृतिक लगायतका पक्ष सुधार्न ठूलो भुमिका खेलेका छन् । टुडे समाचारदाता राजविराज । नदी, खोला, नहर, पोखरीलगायतमा डुबेर मृत्यु हुने घटना बृद्धि भइरहेको बेला सप्तरीमा मंगलबार एकै दिन छुट्टाछुट्टै स्थानमा डुबेर दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार यसरी मृत्यु हुनेमा दुई बालिका र एक महिला छन् । डिएसपी माधवप्रसाद काफ्लेका अनुसार मंगलबार बिहान ११ बजेतिर घर नजिकै रहेको नहरमा लुगा धुने क्रममा तिलाठी कोइलाडी गाउँपालिका २ लोनिया टोलकी १२ वर्षीया साबना खातुनको डुबेर मृत्यु भएको छ । यस्तै पोखरीमा नुहाउने क्रममा खडक नगरपालिका ८ मुसहरनियाकी ३ वर्षीया एलिजा कुमारी चौधरीको डुबेर मृत्यु भएको प्रहरीले जनाए । उनी डुबेको खबर पाई पुगेको प्रहरी टोलीले उद्दार गरि अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबारै महदेवा गाउँपालिका ४ परसाही टोलकी ३० वर्षीया लक्षण कुमारी सदाको पनि पोखरीमा डुबेर मृत्यु भएको छ । घर नजिकैको पोखरीमा भाडा माझ्दै गरेको बेला अचानक डुबेर उनको मृत्यु भएको डिएसपी काफ्लेको भनाई छ । जिल्लामा गत आर्थिक वर्षमा नदी, खोला, नाला, पोखरी, नहर, खालडो लगायतमा डुबेर १३ बालबालिकासहित २७ जनाको मृत्यु भएको थियो ।
चालु आर्थिक वर्षको हालसम्मको अवधीमा एक दर्जन भन्दा बढीको ज्यान गइसकेको प्रहरी तथ्याङ्कले देखाएको छ ।