
जनकपुरधाम । चाडपर्व नजिकिदै जाँदा धनुषामा भारतीय सामानको तस्करी बढेको छ ।
सीमा क्षेत्र रहेका सुरक्षाकर्मी र भन्सार कर्मचारीको मिलोमतोमा दैनिक लाखौ मुल्य बराबरका भारतीय सामान अवैध रुपमा जनकपुरधाम बजारमा आउने गरेको छ । दुई दिन अघि मात्रै जिल्ला नेपाल प्रहरीले भारतबाट भन्सार छलि ल्याउदै गरेको १२ लाख ६१ हजार मुल्य बराबरसहित दुई जनालाई पक्राउ गरेको थियो । भारतबाट ज१ च ११११ नम्बरको पिकअप भ्यानमा तस्करीका कपडा लगायतका समानहरु जनकपुर ल्याएको अवस्थामा प्रहरीले जनकपुरको माछाबजारमा पक्राउ गरेको थियो । सामान तस्करी गरेको आरोपमा जनकपुरधाम उपमहनगरपालिका–१० मुकेश साह र पिकअप भ्यान चालक झापा दमक–४ का ओम वहादुर दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसरी तस्करहरुले साडी, रेडिमेडका कपडा, सर्टिङ्गसुटिङ्गका कपडा बाहेक दैनिक उपभोग्यका सामानहरु, स्टीलका भाडावर्तन, मोटरसाईकलका पार्टपुर्जा लगायतका सामानहरु भारतीय बजारबाट दैनिक करोडौ मुल्य बराबरका करिव १५ वटा गाडीमा सामानहरु अवैध रुपमा जनकपुरधाम लगायत धनुषाका विभिन्न बजारमा आउने गरेको श्रोतको भनाई छ । तस्करहरु सीमा क्षेत्रमा रहेका सशस्त्र, जनपथ सुरक्षाकर्मी र भन्सार कार्यालयका कर्मचारीहरुको आर्थिक प्रभावमा पारेर निर्बाद रुपमा चोरी पैठारी गर्ने गरेको श्रोतले बतायो । तस्करहरुले खजुरी, देबधा, महुर्वा, भडरिया, महिनाथपुर औरही, इनर्वा, यदुकोहा लगायतका नाकाबाट सामान ल्याउने गरेको त्यस कार्यमा संलग्न एक जनाले बताए ।
ती नाकाहरुमा भन्सारका कर्मचारी, सुरक्षाकर्मीहरु व्यापक उपस्थिति भएपनि उनीहरुकै मिलोमतोमा रातिको समययमा तस्करी हुन गरेको स्थानीयको भनाई छ । यस्ता अवैध सामान ल्याउने तस्करहरुसँग महिनावारी उठाउन प्रहरीको घुमुवा र जनकपुर भन्सार कार्यालयका कर्मचारी नै खटाइएको छ । सीमा क्षेत्रमा रहेको छोटी भन्सार कार्यालयका कर्मचारीहरुले बढी सामानको कम मुल्यांकन गरि प्रज्ञापन पत्र बनाएर भन्सार काटने गरेको पाएको छ । चाडपर्व नजिकदै जदाँ तस्करी बढेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राना भाटले पनि स्वीकार गरे । चाडपर्व नजिदै जदाँ विगत भन्दा अहिले बढि तस्करी बढेको देखिन्छ, उनले भने,‘ तस्करी बढेसँगै प्रहरीले पनि सक्रियता बढाएको छ ।’ यस सम्बन्धमा जनकपुरस्थित भन्सार कार्यालयका प्रमुख प्रमोद साह पनि तस्करी बढेको स्वीकार गर्दै सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी र जनपथ प्रहरीले सक्रियता नदेखाएको कारण चोरी तस्करी बढेको बताए । उनले भने,‘ भन्सार छलि गरि आएको माल सामान बोकेको पिकअफ भ्यान जनकपुरमा आए पक्राउ पर्छ, जवकी जनकपुर पुग्न कति वटा प्रहरी चौकीहरु पार गरेर आउँछ, यस हिसावले पनि तस्करी नियन्त्रणमा प्रहरीको सक्रियता कति देखिन्छ प्रष्ट हुन्छ ।’
सिमावर्ति भारतीय बजारको तुलनामा भन्सार महसुल, स्थानीय विकास शुल्क र मुल्य अभिवृद्धि कर लाग्ने गरेकाले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न यहाँका व्यापारीहरु तस्करहरु सहारा लिने गरेका छन् । सामानलाई २० देखि ३० प्रतिशत “क्यारिङ्ग” खर्च दिदा तस्करहरुले भारतीय बजारबाट भनेको ठाउँमा समान पुरियाइदिने र सामान पक्राउ परेको खण्डमा तस्करहरुले नै बेहोर्नुपर्ने नियम रहेको जनकपुरका एक कपडा व्यापारीले बताए ।