
राजविराज । प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले अतिबिपन्न ३९ परिवार दलित समुदायलाई घर हस्तान्तरण गरेका छन् ।
महुली सामुदायिक बिकास केन्द्र बकधुवाले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले शम्भुनाथ नगरपालिका २ का वडाध्यक्ष दुर्गानन्द भगतलाई साँचो र प्रमाणपत्र प्रदान गरि आवास हस्तान्तरण गरे । सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपट्टीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच स्थानीय अति बिपन्न दलित समुदायलाई घर हस्तान्तरण गरेका हुन् । मन्त्री यादवले अतिबिपन्न दलित समुदायको आवास निर्माणमा प्रदेश २ सरकार सहयोग गर्न तत्पर रहेको बताए । आवासको निरीक्षण गर्दै मन्त्री यादवले कम लगानीमा आकर्षक, सुबिधा सम्पन्न र सुरक्षित घर निर्माण गरेको भन्दै प्रशंसा गरे । बिपन्न दलित समुदायलाई घरको व्यवस्था गरेर महुली सामुदायिकले प्रेरणादायी कार्य गरेको छ, मन्त्री यादवले भने–‘यस्तो पुण्यको काम गर्नेलाई जतिनै धन्यवाद दिदा समेत कमै हुन्छ, बिपन्न दलित समुदायको उत्थान हुने माहान कार्यमा स्थानीय प्रदेश र संघीय सरकार सबैले सहयोग गर्नुपर्छ ।’ उनले गरिव, बिपन्न, सिमान्तकृत समुदायको हितमा रहेको आवास निर्माण परियोजनामा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । समतामूलक सामज निर्माणमा आवास निर्माण परियोजनाले टेवा पुग्ने चर्चा गर्दै प्रदेश २ सरकारले महेन्द्र नारायण निधि बिपन्न आवास योजना अघि बढाएको जानकारी दिए । मन्त्री यादवले बिपन्न आवास योजना अन्तर्गत प्रदेश २ का सम्पुर्ण घरबिहिनहरुको घर निर्माण गर्ने उदेश्य राखि बिपन्न आवास योजना अगाडी सारेको बताए ।
पहिलो चरणमा प्रत्येक प्रदेश २ अन्तर्गतका सम्पुर्ण निर्वाचन क्षेत्रमा १० वटा घर निर्माणको काम गरिने उनले बताए । भान्सा, शौचालय र पानीको व्यवस्था सहितको ५ लाखको लगानीमा महेन्द्र नारायण निधि बिपन्न आवास योजना अन्तर्गत घर निर्माण गरि अतिबिपन्न गरिव, दलित समुदायलाई हस्तान्तरण गरिने मन्त्री यादवको भनाई थियो । आवास हस्तान्तरण कार्यक्रममा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, शम्भुनाथ नगरपालिका २ का वडा सदस्य सीताराम सदा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै आवास निर्माण परियोजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । शम्भुनाथ नगरपालिका २ का वडाध्यक्ष दुर्गानन्द भगतको अध्यक्षतामा आयोजित कार्यक्रममा अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष तेज नारायण यादव, ५ का अध्यक्ष श्रीप्रसाद यादव, महुली सामुदायिक बिकास केन्द्र बकधुवाका अध्यक्ष रामलगन मण्डर, निर्देशक प्रभुनारायण चौधरी लगायत स्थानीय जनप्रतिनिधि, संचारकर्मीहरुको उपस्तिथि रहेको थियो । शम्भुनाथ नगरपालिकाको १ लाख ५० हजार, ह्याबिटेट फोर हुमानिटी नेपालको १ लाख ५० हजार गरि १ करोड १७ लाखको लगानीमा ३९ वटा आवास निर्माण गरिएको थियो ।
अतिबिपन्न दलित समुदायको लागि निर्मित आवासमा प्रतिघर ३ लाख लगानी भएको महुली सामुदायिक बिकास केन्द्रका निर्देशक प्रभु नारायण चौधरीले बताए । यस अघि सोही वडामा हिल्टी बाँस परियोजना अन्तर्गत निर्मित १४ वटा आवास अतिबिपन्न परिवारलाई हस्तान्तरण गरेका थिए ।