
प्रदेश २ मा संसदीय दलका नेता चयन गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर जनकपुरधाम आइपुगेका छन् ।
आज जनकपुर विमानस्थलमा अध्यक्ष ठाकुरलाई नेता कार्यकर्ताले स्वागत गरेका छन् । आइतबार बिहान ११ बजेका लागि डाकिएको लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन अध्यक्ष ठाकुर जनकपुरधाम आइपुगेका हुन् ।
उनको प्रमुख आतिथ्यमा हुने उक्त बैठकबाट संसदीय दलका नेता चयन गरिने बताइएको छ । जनता समाजवादी पार्टी (जसपा)का ५५ सांसदमध्ये मात्र १६ सांसद लोसपा रोजेका छन् । जसमध्ये चार सांसद दलका नेताको आकांक्षी छन् ।
तर तत्कालीन राजपा संसदीय दलका नेता जितेन्द्र सोनललाई नै लोसपा दलका नेता बनाउने सम्भावना बलियो रहेको एक सांसदले बताए । महन्थ ठाकुर पक्षका रहेको भन्दै प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीबाट सोनललाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए ।