राजविराज । जीर्ण अवस्थामा रहेको मन्दिरको मर्मत सम्भार र नयाँ संरचना निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको छ ।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले शनिबार राजविराज–५ स्थित गणेश मन्दिरको नव संरचना निर्माणको लागि आर्थिक सहयोग गर्ने ५८ जना दाताहरुलाई सम्मान गरेका हुन् । उक्त मन्दिर निर्माणका लागि मन्त्री साहले पनि ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । मन्त्री साहले प्रदेश २ मा रहेका पुराना एवम् जीर्ण मठ मन्दिरको मर्मत संभार तथा नयाँ मन्दिर निर्माणका लागि साधन श्रोतले भ्याएसम्म प्रदेश सरकारले सहयोग गरिरहेको बताए । उनले प्रदेशस्थित धार्मिक स्थलहरुको संरक्षण संवद्र्धन गरी धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै सबै धर्मको विकास होस् भन्ने मान्यताका साथ प्रदेश सरकार अघि बढिरहेको बताए । मन्दिर परिषदमा आयोजित सम्मान समारोहमा मन्दिर निर्माणमा सर्वाधिक १ लाख ५१ हजार सहयोग गर्ने राजविराज ५ निवासी शैलेन्द्रचन्द्र झा ‘बुधन‘, संजु झा, कुमार अभिनव, सतिशचन्द्र झाका साथै मिलन सिंह, शैलेन्द्र मोहन झा, मोकेन्द्रयादव लगायत ५८ जना दातालाई मन्त्री साहले कदर पत्रबाट सम्मान गरेका थिए ।
स्व. अकलमान श्रेष्ठ मुल संस्थापक रहेको मन्दिरलाई नयाँ स्वरुप दिन अहिलेसम्म १२ लाख ६ हजार रुपैयाँ विभिन्न दाताहरुबाट प्राप्त भएको स्वर शर्मा मन्दिर समितिले जानकारी गराएको थियो ।


