
जनकपुरधाम । जितिया पर्वको अवसर पारेर धनुषाको हंसपुर नगरपालिका–७ नौवाखोरमा सोमबार जिमुतवाहन भगवानको नवनिर्मित मन्दिरको उद्घाटन गरिएको छ ।
हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले एक समारोहका बीच नौवाखोरस्थित नवनिर्मित जिमुतवाहन मन्दिरको उद्घाटन गरेका हुन् । हिन्दू धार्मिक परम्परा अनुसार पुजा अर्चना गरि मन्दिरको उद्घाटन गरिएको हो । वडा नम्बर ७ का वडाध्यक्ष रामसेवक मण्डलको अध्यक्षतामा भएको एक समारोह बीच हंसपुर नगरपालिकाका मेयर मण्डलले सबै धर्म, जाती समुदाय, लिंगको सम्मान गरेर अघि बढिरहेको बताए । मिथिलामा जितिया पर्वको छुट्टै महत्व रहेको जिकिर गर्दै जितिया पर्वले सबैको लागि सुखद् होस् भन्ने कामना समेत गरेका थिए । मन्दिर स्थापना भएपछि स्थानीय श्रद्धालुहरुलाई दर्शनपूजामा सहज हुने विश्वास उनले व्यक्त गरे । सन्तानको दीर्घायु तथा सुख समृद्धिको लागि गरिने यस पर्वको मिथिलामा विशेष महत्व छ । तीन दिवसीय यस विकट पर्वको पहिलो दिन सोमबार व्रतीहरू ‘नहाय खाय’ विधि गरेका छन् । दोश्रो दिन विहान सूर्य उदय हुनु पूर्व ‘ अंगुठन ’ गर्छन । अंगुठन यस व्रतको रोचक पक्ष हो । विहान काग कराउनु पूर्व व्रतीहरु घिरौलाको पातमा च्युरा दही, केला, अमोट (आँपको रसबाट बनाएको परिकार) आदि प्रसाद चढाइ सपरिवार प्रसादको रुपमा ग्रहण गर्छन् ।
व्रतको तेश्रो दिन बुधबार व्रतीहरुले अन्न ग्रहण गरेपछि तीनदिवसीय जितिया पर्व विधिवत रुपमा सम्पन्न हुनेछ । प्रत्येक वर्ष भाद्र कृष्णपक्षको अष्टमी तिथिको दिन जितिया पर्व मनाउने परम्परा भए पनि यसको आरम्भ भने षष्ठी तिथिबाटै सुरु भएको हो । मन्दिर उद्घाटन समारोहमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नगर संयोजक लालबाबु यादव, जिल्ला समन्वय समितिका सदस्य धनिकलाल मण्डल, युवा नेताहरु अरुण कापर, जागेश्वर मण्डल, वडा नं.९ का वडा सदस्य जगदिश मण्डल, सुधिर मण्डल सहितका व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।