अपडेट 
२०७८ आश्विन १३, बुधबार ०७:१८

जितिया पबनी मधेसी हिन्दू समुदायको एउटा मुख्य पर्वमध्ये एक हो । यस पबनीको नियम र अनुशासन निकै कडा छ ।

यो कुनै शास्त्रीय पर्व भने होइन । यदि शास्त्रीय पर्व भएको भए यसको विधिविधान अलिक फरक हुन्थ्यो अन्य शास्त्रीय पर्वहरुको जस्तो । तर यसलाई शास्त्रसित पनि जोडिएर हेरिएको पाइन्छ । कतिपयले के विश्लेषण गर्दछन् भने भविष्य पुराणमा जितिया पबनीबारे वर्णन छ । यस पुराणमा उल्लेख भएको भनिए अनुसार शालिवाहन राजाका छोराको नाम जिमूववाहन थियो । उनी भगवान शिवको अनुकम्पाका पात्र थिए । भगवान शिवको असीम अनुकम्पा वा कृपाको कारणले नियम निष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने बरदान भगवानबाट प्राप्त गरेका थिए । तिनै भगवानले पुत्रको रक्षा गरुन् भनी महिलाहरुले यो पबनी मनाएका हुन् । आमाले पुत्रको आरोग्य तथा सम्बृद्धिको लागि यो व्रत गर्ने र भगवानको पूजा गर्ने चलन रहेको छ । यो पबनी कहिलेदेखि मनाउन थालियो भन्ने तथ्य उही भविष्य पुराणको आधार मात्र रहेको छ । मुख्यतया पुत्रवती आमाले यो पबनी गर्ने हो । यसको अर्थ पुत्र नभएकी आमाले यो पबनी नगर्ने होइन । पुत्र प्राप्तिको आकांक्षा लिएर पनि जितिया पबनी गर्ने चलन रहेको छ । पुत्र प्राप्तिको लागि महिलाहरुले भगवानको पूजा गर्दै यो पबनी गर्दछन् । सामान्यतया जितिया पबनीको परम्परागत मान्यता के रहेको छ भने पुत्रको आयु र आरोग्यको लागि आमाले यो पबनी गर्ने हो । तर समय परिवर्तनशील छ । अहिलेको युगमा छोरा र छोरीमा भेदभाव गर्नु हुन्न भन्ने सिद्धान्त व्यवहारमा लागू भइरहेको छ । हाम्रो समाजमा पनि यस्ता कतिपय सदस्य छन्, जसका छोरा छैनन् र छोरीलाई नै छोराजस्तो बनाएका छन् । छोरी हुँदा छोराको चाहना नगर्ने मानिस हाम्रो समाजमा अब विस्तारै धेरै भइसकेका छन् ।

छोरा र छोरीमा भेदभाव नगर्ने छोरीकी आमाले पनि यो पबनी गरेको पाइन्छ । अब यो पबनी छोराको लागि मात्र भनेर संकुचित अर्थमा सीमित रहेको छैन । यो पबनीले सन्तानको आयु, यश र स्वास्थ्यको लागि हो भन्ने भावनाको विस्तार भइरहेको छ । पबनीमा पनि समानताको युग आइसकेको छ र विस्तारै यसलाई मान्नेहरु बढ्दै छन् । छोरा वा छोरीकी आमा भन्नुको सामान्य अर्थ जितिया पबनी विवाहित महिलाले गर्ने पबनी हो । समयको क्रममा यो पनि विस्तारै पुरानो अर्थ भइसकेको छ । अब अविवाहित युवती वा महिलाले पनि यस पबनीलाई गर्न थालेका छन् । विवाहित महिलाले पुत्रको आयु र यशका साथै स्वास्थ्यको लागि मात्र गर्ने होइन, आफ्ना दाजुभाइको आयु र स्वास्थ्य र यशका लागि पनि व्रत बस्ने परम्पराको विकास भइरहेको छ र धेरै हदसम्म महिलाले आफ् ना दाजुभाइको आयु, यश र स्वास्थ्यको लागि ब्रत बस्न थालेका पनि छन् । अझ अविवाहित युवती वा महिलाले दाजुभाइको आयु, यश र स्वास्थ्यको लागि त गर्दछन् नै साथमा आयुष्मान्, स्वस्थ तथा यशवान् पनि प्राप्तिको आकांक्षा लिएर पनि यो पबनी गर्ने परम्पराको विकास भएको छ । यस अर्थमा जितिया पबनीले परम्परागत अर्थलाई कायम राखेर आधुनिक युगमा युग अनुसारको आयामलाई धारण गरिसकेको छ । अब पुत्र प्राप्तिको लागि, पुत्रको जीवनमा आइपर्ने कुनै अप्रत्याशित संकटबाट मुक्तिका लागि मात्र नभई दाजुमाइ तथा छोरी र पति अर्थात् श्रीमान्को वा भावी श्रीमान्को लागि समेत गरिन थालिएको छ । पहिले पुत्रको आयुको लागि गर्ने गरिएको मानिएको यस पबनीको अर्थ र परिभाषाका साथै आयाम नै व्तिार भएको छ । समय अनुसार पबनीको स्वरुपमा पनि परिवर्तन आएको छ ।

यसलाई सकारात्मक मान्नु उचित हुन्छ । थारु समुदायले पनि यस पबनीलाई निकै भव्यताका साथ मनाउने गर्दछ । कतिपयले थारु समुदायकै जितिया पबनी हो भनेर पनि दाबी गर्ने गर्दछन् । कतिपय अवस्थामा थारुहरु हिन्दू समुदायको हो भन्ने तर्कलाई अस्वीकार गरेको पाइन्छ भने कतिपय अवस्थामा बौद्ध समुदायको हो भनेर पनि भन्दछन् । एकपटक त यो पनि सुनिएको थियो कि थारु समुदायको सम्मेलनले आफूहरु गौतम बुद्धका वंशज भएकोले बौद्ध धर्मावलम्बी हौँ भन्ने निर्णय गरेका छन् रे । यद्यपि देशमा पूर्वदेखि पश्चिमसम्म फैलिएर रहेका थारु समुदायको भाषा र भेषभूषामा केही भिन्नता पाइन्छ । यस्तै थारु समुदायले मान्ने देवीदेवतामा पनि थोरबहुत स्थानीय अन्य समुदायले मान्ने देवीदेवता मान्ने गरेको उदाहरण पाइन्छ । यस अर्थमा थारु समुदायले हिन्दू धर्मलाई नै ग्रहण गरेको अवस्था हो भन्न सकिन्छ । यसै कारण जहाँ थारु बहुल समाज छ, त्यहाँ अनेक पर्वहरुले अन्यत्रको भन्दा भिन्न किसिमले मनाउने स्वरुप पनि प्राप्त गरेको हुनुपर्छ । अनि कतिपय अवस्थामा थारु समुदायले आफ्नो मौलिक पबनी हो भन्नुमा अत्युक्ति मान्नु हुँदैन । यस किसिमको सोचाइ वा दृष्टिकोणले पर्वप्रतिको अपनत्व र प्रेमको विस्तार हुने गर्दछ । अन्य चाडपर्वहरुको तुलनामा जितिया पबनीको जुन किसिमले ब्रत बस्ने विधि रहेको छ, यसमा अहिलेसम्म खासै परिवर्तन आउन सकेको छैन । थारु समुदायले पनि आफ्नै पर्व हो भनी जितिया पबनीलाई मान्नुलाई पनि विशिष्टता मान्नुपर्ने देखिन्छ । नेपालको तराई मधेसमा विभिन्न जातजाति तथा समुदायमा मनाइने जितिया पबनी भारतको मुख्य गरी उत्तर प्रदेश र बिहारमा पनि उत्तिकै श्रद्धाका साथ मनाइने गरिन्छ ।

जितिया आस्थाको पबनी हो । कतिपयले यस पबनीको उपादेयतामाथि प्रश्न उठाउँदै अन्धविश्वासको आरोप पनि लगाउलान् । व्रत बसेर यश, आयु र स्वास्थ्यमा वृद्धि हुने होइन भन्लान् । आस्थालाई अन्धविश्वास मानिहाल्ुन हुँदैन । हाम्रा आस्था तथा चाडपर्वहरुका पछाडि वैज्ञानिक तथा पर्यावरणीय सोच रहेको कुरा धेरैले नबुझेर पनि हाम्रो संस्कृति र चाडपर्वलाई अन्धविश्वास भनिदिने गरेको पाइएको छ । हरेकले आफ्नो संस्कृतिमाथि गर्व गर्न पाउनु पर्दछ र हामीले पनि हाम्रो संस्कृतिप्रति गर्व गर्नु पर्दछ । हाम्रा संस्कृतिका असल कुराहरुलाई बाहिर ल्याउनु पनि परेको छ । सोझै अन्धविश्वास हो भन्ने कुरालाई अस्वीकार गर्नु आवश्यक छ । हो, एकले व्रत बसेर अर्कोको आयु बढ्छ भन्ने कुराप्रति कतिपयको विश्वास नहोला तर एकले कमाई गरेको सम्पत्तिमा अर्काको हक लागेको त यत्तिकै देखिएकै छ नि । जितिया पबनीको दिन व्रतालुले एउटा सिन्कासम्म भाँच्नु हुन्न भन्ने गर्दछन् । तरकारी पनि काट्न नहुने तथा एउटा कीलाई पनि कुच्लन नहुने विश्वास रहेको छ । यी सबका पछाडिको वैज्ञानिक दृष्टिकोण पनि रहेको हुनुपर्छ । उदाहरणको लागि वर्षमा एक दिन यस्तो पनि हुनुपर्दछ कि महिलाले घरको कुनै पनि काम नगर्दा कस्तो हुन्छ भन्ने अनुभूति होओस् । घरायसी काम त वर्षभरि महिलाले नै गर्नुपर्ने हुन्छ तर एक दिन घरको कुनै पनि काम महिलाले नगर्दा यदि पुरुषले गर्दछन् भने घरको काम कति गाहारो हुन्छ भन्ने पनि पुरुषले बुझ्ने हुन्छन् । कतिपयले भन्देलान् कि एक दिन महिलाले काम नगर्दैमा केही पनि हुँदैन । यो हचुवा मूल्यांकन हो । एक दिनको त हरेक क्षणको महत्व हुन्छ । यदि एक दिन काम नगरेर केही हुँदैन भन्ने हो भने पनि अर्को पाटोलाई पनि विचार गरौँ त । एक दिन घरको पूरा काम पुरुषले गर्नुपर्दाको अवस्थामा पुरुषले कस्तो अनुभूति गर्दछन् । घरको काम एक दिन पुरुषले पनि गर्नु पर्दछ भन्ने दृष्टिकोणले विचार गर्ने हो भने यस पबनीको महत्व स्पष्ट हुन्छ ।

एउटा कीरालाई पनि मार्नु हुँदैन । जलाशयमा नुहाउनु पर्दछ । तोरीको तेल जिउमा लाउनु पर्दछ । पिनाले नुहाउनु पर्दछ । घिरौलाको पात चाहिन्छ । यी र यस्ता अन्य पक्षहरुलाई विचार गर्ने हो भने यस पबनीमा कुनै तडकभडक हुँदैन भन्ने स्पष्ट देखिन्छ । यो नितान्त ग्रामीण पर्व हो र यसले वर्तमानमा पनि कम्तीमा ग्राम्य जीवनको झलक हरेकलाई दिने गर्दछ । ग्रामीण समुदायमा प्राचीन मानिस कसरी बाँच्दथे, तिनीहरुको चिन्तन र व्यवहार कस्तो थियो भन्ने कुराको व्यावहारिक अनुभूति यस्ता पबनी त्यौहारले गर्दा गराउने हुन्छ भन्ने कुरामा पनि विचार पु¥याउनु आवश्यक छ । जितिया पबनीको बारेमा पहिले धेरैलाई थाहा थिएन । सञ्चारको विकास हुन थालेपछि समग्र देशले नै यस पबनीको बारेमा बुझ्न थालेको छ, जान्न चाहेको छ । यस पबनीप्रति उत्सुकता पनि बढेको छ । अब देश संघीयतामा गइसकेको छ । देश संघीयतामा गइसकेपछिको समयमा यस पबनी मान्ने महिलाहरुलाई प्रदेश सरकारले बिदा दिन थालेको छ । यसले यस पबनीको सम्मानमा वृद्धि भएको छ । पबनी गर्ने महिलाहरुको सम्मान भएको छ । सबैको आस्थाको सम्मान भएको छ । यस पबनीका वैज्ञानिक चिन्तनहरुलाई उजागर गर्न अब झन् सजिलो भएको छ भन्ने कुरालाई मान्ने हो भने यस पबनीको बारेमा अझ धेरै कुराहरु आउन बाँकी रहेको छ ।

Comment


Related News