
जनकपुरधाम । राजर्षी जनक विश्वविद्यालयका विद्यार्थी पनि आन्दोलित बनेका छन् ।
विश्वविद्यालय अन्तर्गतका क्याम्पसले अनलाइन क्लास गराएर अफलाइनको शुल्क लिएको विरोधमा स्नातक तहका विद्यार्थीहरु आन्दोलित बनेका हुन् । उनीहरुले भौतिक रुपमा अफलाइन कक्षा संचालन गराउन माग समेत राखेका छन् । मंगलवार विद्यार्थीहरुले जनक चोकमा प्रदर्शन गरे । साथै क्याम्पस प्रमुख बिनायक झा र विश्वविद्यालयका उपकुलपति भरत झाको पुत्ला समेत जलाएका छन् । विश्वविद्यालय बन्दक बनाउन पाइदैन, विद्यार्थी एकता जिन्दावाद, गुणात्मक शिक्षा कायम गर, झुठको खेती गर्ने क्याम्पस प्रमुख मुर्दावाद, भौतिक रुपमा कक्षा सञ्चालन गर जस्ता नारा विद्यार्थीहरुले लगाएका थिए । आन्दोलनको नेतृत्व गरेका विद्यार्थी आनन्द सिंहले माग पुरा नभएसम्म संघर्ष जारी राख्ने बताए । उनले विगत ५ दिनदेखि आन्दोलन गर्दा पनि सम्बन्धित निकायले माग पुरा गर्न कुनै चासो नदेखाएको गुनासो गरे ।