अपडेट 
२०७८ आश्विन १३, बुधबार ०७:२५

गरुडा । सरकारले सामुदायिक शिक्षामा अर्बौको लगानी गरेको छ । तर पनि सामुदायिक शिक्षाको गुणस्तर माथि उठ्न सकेको छैन् ।

रौतहटको ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयको अवस्था दयनीय छ । शहरी क्षेत्रको सामुदायिक विद्यालयको अवस्था तुलनात्मक रुपमा राम्रो भएपनि ग्रामीण क्षेत्रको अधिकांश विद्यालयहरुको अवस्था दयनीय रहेको छ । रौतहटमा एउटा यस्तो विद्यालय छन् जहाँ विद्यार्थीलाई बस्नलाई नबेन्च डेस्क छ, नत दिशा पिसाव गर्ने शौचालय नै छैनन् । खानेपानीको लागि कल पनि छैन् । त्यो विद्यालय हो गढिमाई नगरपालिका वडा नं. ६ पकहा बखरीको प्राथमिक विद्यालय । सरसफाईको अभावमा प्राथमिक विद्यालय पकहा बखरीको विद्यार्थीहरु पढने कोठा समेत फोहोरले दुर्गन्धित छ । फोहोरले उक्त विद्यालयमा बसेर पढने अवस्था छैन् । ५ कक्षासम्म पढाई हुने उक्त विद्यालयमा विद्यार्थीलाई बस्न एउटा पनि बेन्च डेस्क छैन् भने शिक्षकलाई बस्न कुर्सी पनि छैन् । ब्रेन्च डेस्क नहुँदा विद्यार्थीहरु कक्षा कोठाको फोहोरमा नै भुइँमै बसेर पढ्न बाध्य छन् । विद्यालयमा भएको शौचालय समेत सरसफाईको अभावमा फोहोरले प्रयोग विहीन भएका कारण विद्यार्थीहरु शौच गर्न खेतमा जाने गरेका छन् । त्यस्तै शुद्ध खानेपानीका लागि खानेपानी कलको समेत व्यवस्था नहुँदा विद्यार्थीहरु पानी खान गाउँलेको कलमा जान बाध्य छन् । विद्यालयमा बस्न बेन्च, डेस्क, शौच गर्न शौचालय र खानेपानीको व्यवस्था नहुँदा तथा कोठाहरु पुरै दुर्गन्धित भएको कारण विद्यार्थीहरु पढन जान मान्दैनन । विद्यालयमा एक सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेपनि मुस्किलले दैनिक १० देखि १५ जना विद्यार्थी मात्रै पढ्न जाने गरेका छन् ।

विद्यालयमा एक त बेन्च, डेस्क, शौचालय र कल नभएको र त्यसमा पनि पढाई समेत राम्रो नहुँदा बालबालिकालाई भविष्य बर्बाद हुने डरले आ आफना छोराछोरीलाई विद्यालय पठाउन छाडेको अभिभावकहरु बताउँछन् । गढिमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव र वडा नं ६ का वडाध्यक्ष राम सिहासन राय यादवको लापरवाहीका कारण विद्यालयको अवस्था लथालिङ बनेको स्थानीय अभिभावक अवध राय यादवले बताए । विद्यालयको अवस्था सुधार गर्न आफुहरु नगर प्रमुख श्याम यादव र वडाध्यक्ष यादवलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नगरेको यादवले बताए । मेयर र वडाध्यक्षले विद्यालयको अवस्था सुधार गर्न कुनै ध्यान नदिएकोले विद्यालय एवं पढाइको अवस्था निकै कमजोर भएको र त्यस्तो विद्यालयमा छोराछोरी पढाउँदा उनीहरुको भविष्य अन्धकारमा पर्ने डरले आफुहरु महंगो शुल्क तिरेर नै निजी विद्यालयमा छोराछोरी पढाउने गरेको अभिभावकहरुले बताएका छन् । शिक्षाको अवस्था कमजोर हुँदै गएपनि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र स्थानीय जनप्रतिनिधिले समेत यसप्रति कुनै चासो देखाएको छैन् । रौतहट एक त शिक्षामा देशमै सबभन्दा पछाडी परेको र त्यसमा पनि विद्यालय एवं पढाई दुवैको अवस्था राम्रो नहुँदा शिक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन खुस्किदै गएको छ ।

तर व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र निर्वाचित जनप्रतिनिधिले विद्यालयको शिक्षाको स्तर सुधार गर्ने तर्फ कुनै ध्यान नदिई शिक्षाको नाममा आउने रकमलाई हिनामिना गर्नेतर्फ मात्रै लागेको आरोप लाग्ने गरेको छ । शिक्षाको सम्पुर्ण अधिकार स्थानीय तहमा आइसकेको छ त्यसैले शिक्षामा हुने गरेको कमीकमजोरी हेर्ने र समाधान गर्ने अधिकार पालिकालाई दिइएको छ तर गढिमाई नगरपालिकाका जनप्रतिनिधिहरु शिक्षाको स्तर सुधार तर्फ कुनै ध्यान नदिई बढी फाइदा हुने विकास बजेट चलाउने तिर मात्रै केन्द्रित रहेको स्थानीयहरुले बताए ।

Comment


Related News

Latest News

Trending News