राजविराज । सरकारले बृद्धि गरेको तलब उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रेका सप्तरीका बालविकास शिक्षकहरुले मंगलबार पनि राजविराज नगरपालिका कार्यालयमा दुई घण्टा धर्ना दिएका छन् ।
जितिया पर्वको उपवास बसेकी दिन पनि उनीहरुले ११ बजेदेखि १ बजेसम्म दुई घण्टा नगरपालिका कार्यालय परिसरमा धर्ना दिएकी हुन् । अघिल्लो दिन एक घण्टा धर्नामा बसेकी महिला शिक्षिकाहरुले दोश्रो दिन धर्नाको समय बढाउँदै दुई घण्टा धर्नामा बसेकी थिइन् । विद्यालयका बाल विकास शिक्षक र कर्मचारीको सरकारले तलब बृद्धि गरेपनि आफूहरुले नपाएको आन्दोलनकारीको गुनासो छ । नेपाल सरकारको २०७८ को बजेट अनुसार बृद्धि गरेको २ हजार र स्थानिय सरकारबाट ७ हजार दिने भनिएपनि आफूहरु पाउन नसकेको संघर्ष समितिकी सदस्य सचिव विभा झाको भनाई छ । पहिलादेखि पाइरहेको ६ हजार र थप गरिएको २ हजार गरि ८ हजार तथा सम्बन्धीत नगरपालिका र गाउँपालिकाबाट ७ हजार थप गरि १५ हजार तलब दिनु पर्ने आन्दोलनकारी महिला शिक्षिकाहरुको भनाई छ । यसअघि ज्ञापन पत्र बुझाउने पेन डाउन गर्ने, हातमा कालो पट्टी बाँधेर पठनपाठनमा सहभागि हुने।
सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम र धर्ना लगायत कार्यक्रम गरेकोमा प्रथम चरणको आन्दोलन कार्यक्रम मंगलबार सम्पन्न भएको र माग पूरा नगरिए जितिया पर्व सम्पन्न भएपछि दोश्रो चरणको आन्दोलन कार्यक्रम पत्रकार सम्मेलन मार्फत घोषणा गरिने संघर्ष समितिल जनाएको छ ।


