जलेश्वर । गाँउकै एक वन विभागका कर्मचारीलाई अख्तियारले समातेको घटनामाथिको चियोचर्चोमा टिप्पणी गर्दै मेरा काका स्व.मोदनारायण झाले भनेका थिए –‘ किछु नई होतै ओकरा ई सरकारवादी मुद्दा हई सरकार मुद्दा हारबे करैछई ।’ मैथिलीको यी १२ वटा शब्दको आसय यहि हो कि वनको कर्मचारीमाथिको मुद्दामा कर्मचारी ‘प्रतिवादी’ र सरकार ‘वादी’ हुने गरेको र सो मुद्दामा सरकार हार्ने निश्चित हुने गरेको भन्ने आशय उनको थियो । अर्थात जस्तो सुकै अपराध गरेपनि फित्लो अनुसन्धान प्रक्रियाको कारण ढिलो चाँडो उम्किने प्रवृति हावि हुँदै गएकोले नै दण्डहिनताले प्रश्रय पाएको भन्नु अनुपयुक्त नहोला । जिल्ला वन कार्यालय महोत्तरीका सात जना कर्मचारीहरुकै मिलोमतोमा ४ सय भन्दा बढि रुख कटानी गरेर जंगल नै मासेको घटनाको मुद्दाको सुनुवाई अहिले मजिल्ला अदालतमा विचाराधिन छ । सामान्यतयाः सरकारी कार्यालयहरुको मुद्दामा बहश गर्ने सरकारी वकिल नै हुने गरेकोले सरकारी वकिल कार्यालय मार्फत आरोपीहरुमाथि काठ चोरी पैठारीको मुद्दा दायर गरिएको छ । थुप्रै सरकारी मुद्दाहरु जस्तै यो मुद्दा पनि अदालतमा चलिरहेको छ ।
अनाधिकृत वन फँडानीमा कर्मचारीहरुले दिनदहाडै ४ सय ६ वटा रुख काटेर बेच्न लाग्दा पक्राउ परेको सुन्दा काकाले करिब तीन दशक अघि बोलेका ती शब्दहरु मेरो मानसपटलमा फेरि ताजा भएर आएको छ । रक्षक नै भक्षक भईदिँदा महोत्तरीमा वन पैदावार चोरी तस्करी मौलाउँदै गएको तथ्यलाई नकार्न नमिल्ने वातावरण अभियन्ता झगरु पाण्डेको धारणा छ । २०७७ पुष महिनामा बर्दिवास गाँउपालिका–१ रम्तेल डाँडा स्थित ,रम्तेल डाँडा सामुदायिक वनमा वन उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर राउतलाई काठ चोरी तस्करीको आरोपमा वन कार्यालयबाट खटि गएका टोलीले पक्राउ गरे । अध्यक्ष राउतको प्रत्यक्ष निगरानीमै ४ सय ६ वटा रुख काटन लगाईएको अनुसन्धान अधिकृत सहायक वन अधिकृत श्याम सुन्दर साहले बताए । वन फँडानी काण्डमा सब–डीभिजन वन कार्यालय बर्दिवासमा कार्यरत सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादव , फरेष्टर सन्तोष कुमार साह , वनरक्षकहरु अजय कुमार यादव , राजकिशोर झा , दिलिप महतो , राकेश यादव र नारायण ढुंगेलको संलग्नता रहेको ठहर समेत गरिएको अनुसन्धान अधिकृत साहले बताए । घटना पश्चात अनुसन्धान प्रभावित हुने भन्दै केही दिनको लागि सातै जना कर्मचारीहरुलाई निलम्बन गरिएको थियो । तर मुद्दा अदालतमा पुगेपछि आरोपी कर्मचारीहरुको अदालतले फैसला नगरुन्जेल पुर्ववत अवस्थामा निलम्बन फुकुवा भएको छ ।
चोरीका अरोपी कर्मचारीहरु जाबो तारिकको भरमा खुला भई पुनः कार्यक्षेत्रमा छन उनी जस्ता कर्मचारीहरुसंग वन जोगाउने कि मास्ने के आशा गर्ने भन्ने प्रश्न अभियन्ता पाण्डेले तेस्र्याए ।


