अपडेट 
२०७८ आश्विन १४, बिहीबार ०७:२२

अश्लिल शब्द प्रयोग गरी जिस्काउने केटाहरुलाई कारबाही गर्न प्रहरीले आलटाल गरेपछि गहुँमा प्रयोग गरिने विषादी (विष) सेवन गरेकी एक बालिकाको बुधबार मृत्यु भएको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका ४ का सुरेश कामतकी १२ वर्षीया ममता कामतले गहुँमा प्रयोग गरिने विष खाएकी थिइन् । घरमै बेहोस् भएपछि उनलाई तत्कालै उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर ल्याइएको थियो । उनी करिब ११ घण्टा मृत्यूसँग संघर्ष गरिन् । र बुधवार विहान करिब २ बजे दम तोडिन् । ट्यूशन पढेर फर्किने क्रममा बाटो छेकेर जिस्काएका केटाहरुमाथि प्रहरीले कारबाही नगरेकै कारण उनी विष सेवन गरेर प्राण त्यागेको आफ्न्त बताउँछन् । उनी गाउँकै सामुदायिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन् । गत भदौं २३ गते ममता गाउँमै ट्यूशन पढेर फर्किदै थिइन् । बाटो छेकेर स्थानीय २२ वर्षीय संजय दास, २० वर्षीय कलेश्वर दास र १९ वर्षीय भिलबा दास अश्लिल शब्दले जिस्काए । उनीहरुले ९८१२१२२ ९८८४ लेखिएको एउटा कागज पनि जर्वजस्ती थमाए । आफूसँग बोल नत्र बेइज्जत गरिदिने धम्की पनि ममतालाई तीनै जना केटाले दिए । त्यसपछि उनी भागेर घर पुगेकी थिइन् । ममता घर पुगेर घटनाबारे आमा– बुवालाई जानकारी गराइन् । त्यसपछि ममताका बुवा सुरेशले समाजलाई खोजे । ममतालाई जर्वजस्ती थमाएको नम्बरमा फोन गरेर दाई नातामा पर्ने बलिराम कामत सम्झाउन खोजे । तर भदौं २४ मा उल्टै ती केटाहरु घरमै आएर बलिरामलाई कुटपिट गरे । त्यसपछि पीडित परिवार ईलाका प्रहरी कार्यालय खजुरीमा पुगे । भदौं २५ गते नै ममताका बुवा सुरेशले जिस्काउने तीनै जना केटामाथि अभद्र व्यवहार सम्बन्धी उजुरी ईलाका प्रहरी कार्यालय खजुरीमा बुझाए । तर त्यहाँका इन्सपेक्टर रबि मैनाली उजुरी दर्ता गर्न मानेनन्, बरु गाउँमै मिलापत्र गर्न पीडित परिवारलाई दबाब दिए । प्रहरीले उजुरी दर्ता गरी छोरीलाई जिस्काउने केटाहरुमाथि कारबाही गर्न नमानेपछि सुरेश वडाध्यक्ष हरिचन्द्र कामतलाई गुहारे ।

भदौ २५ मै वडा कार्यालयमा छलफल पनि राख्यो । दुबै पक्षलाई वडाध्यक्षले बोलाए । तर छलफल भइरहेका बेला जिस्काउने केटा पक्षका नेता रामउदगार दास होहल्ला मच्चाए । ‘रामउदगार दासले होहल्ला गरेपछि छलफल हुन सकेन’, वडाध्यक्ष कामत भन्छन्, ‘दुई पक्षबीच झडप नै भयो । एक जना घाईते पनि भएको थियो । त्यसपछि पीडित परिवारलाई प्रहरीमै पठाइदिए ।’ घटनाको छानविन गरी संलग्नहरुमाथि कारबाही हुनुपर्ने उनको भनाई छ । ममताले विष सेवन गरी आत्महत्या गर्नुमा स्थानीयले प्रहरी प्रशासनलाई दोषी मान्छन् । नातामा बाजे पर्ने धुपु कापर भन्छन्, ‘मृत्यू भएको बचिया (बालिका) मेरो नातिनी हो । उनलाई तीन जना दास थरका केटाहरु जिस्काएका थिए । तर प्रहरीले कारबाही गर्न कुनै चासो देखाएनन् । अहिलेसम्म मुद्दा पनि दर्ता प्रहरीले गरेका छैन । वयानका लागि थानामा बोलाउँदा उनले विष सेवन गरिन् । उपचारका लागि जानकी हेल्थ केयरमा ल्याएको थियौं । तर आज विहान उनको मृत्यू भयो ।’ ‘प्रहरीले उजुरी दर्ता गरेर अपराधीलाई कानूनी दायरामा नल्याउँदा यो घटना घटेको छ’, उनले गुनासो पोखे । घटनामा राजनीतिकरण भएपछि प्रहरीले अपराधीलाई कारबाही गर्न नचाहेको उनले बताए । अपराधीहरुलाई बचाउन नेताहरु लागिपरेको उनको भनाई छ । उजुरी दर्ता किन भएन भन्ने जिज्ञासामा ईलाका प्रहरी कार्यालय खजुरीका इन्सपेक्टर रबि मैनाली भन्छन्, ‘जिस्काएको आरोप लगाउने बालिकाको बुवा आएर उजुरी दिनुभयो । तर बालिकालाई वयानका लागि ल्याउन भनेपनि ल्याएनन् ।

त्यसैले उजुरी दर्ता गरेको छैन ।’ उनले उजुरी परेपछि आरोपित तीनै केटालाई बोलाएर वयान लिएको बताए । ‘वयानका क्रममा दोषी नदेखिएकोले आरोप लगाएकी बालिकालाई बयानका लागि बोलाएको थिए’, उनले भने, ‘तर वयान नै दिन नआएपछि उजुरी कसरी दर्ता हुन्छ ?’ इन्सपेक्टर मैनालीले आर्थिक चलखेलमा परेर अपराधी बचाउन खोजेको पीडित पक्षको आरोप छ ।

Comment


Related News

Latest News

Trending News