अपडेट 
२०७८ आश्विन १४, बिहीबार ०८:२७

हालै असोज ६ गते बुधबारका दिन जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा दर्ता गराउन जनकपुरधामको शिवचौक स्थित वेलकम होटलमा एउटा कार्यशाला गोष्ठिको आयोजना गरिएको थियो । यो गोष्ठि जनकपुरधाम उप–महानगरपालिका तथा युकेएड सुदृढ परियाजनाको संयुक्त तत्वाधानमा सम्पन्न भएको थियो । यस गोष्ठिमा जनकपुरधाम क्षेत्रमा बसोबास गर्ने सबै तप्काका प्रमुख व्यक्तित्वहरू सहभागी भएका थिए ।यस गोष्ठिमा जनकपुर बारे बडो गहन छलफल भयो । जानकी मन्दिरको प्राङग्णमा लगाइएका टाईल्स र मार्बल बारे विभिन्न चर्चा÷परिचर्चा चलेका थिए । जनकपुरधामको सडकहरूमा छाडा गाई, साढे, सुंगुर तथा कुकुरलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारे समेत राम्ररी छलफल भएको थियो । त्यत्ति मात्र कहाँ हो र ! जनकपुरधाममा अवस्थित मन्दिर, कुटी, आश्रम आदि बारे समेत चर्चा चलेको देखियो । जनकपुरधामलाई पोखरीहरूका शहर भन्ने गरिन्छ । जनकपुरधामको ऐतिहासिक दस्ताबेज अनुसार जनकपुरधाममा ‘५२ कुटी र ७२ कुण्डा’ को भनाइ लाई कसरी चरितार्थ गर्न सकिन्छ त्यस बारे समेत बहस चलेको देखियो । कति सहभागिहरूले जानकी मन्दिरको माथिल्ला टुप्पाहरूमा रहेका विभिन्न सोनाका गुम्बजहरू दिनप्रतिदिन बिलाउँदै गएको कुरालाई कुनै सम्बन्धित निकायबाट यसको संरक्षण भएको देखिएन !

सहभागी मध्येका एक जनाले उत्तर गेटको माथिल्लो तल्लामा स्थापित दुवै बाघको चारै आँखामा जडित हिरा पत्थर कहाँ गए थाहा भएन । जानकी मन्दिरका छोटे महन्थ संत रामरौशन दास बैष्णवको भनाइ अनुसार हाम्रो जिम्मामा रहेका जानकी माताका गरगहणाहरू तत् कालिन गुठी संस्थानका केन्द्रीय पदाधिकारी भर्पाइ बनाएर काठमाण्डौ लगे । पछि ताकेता गर्दा कहिले गुठी संस्थान, कहिले संस्कृति मन्त्रालय त कहिले पुरातात्विक विभाग जान भनेका छन् । अहिलेसम्म कहीं कतै कुनै पत्ता लागेको छैन । वहाँले अर्को कुरा चेला–गुरुको परम्परालाई कायम राख्नु पर्छ किनभने यस्ता परम्पराहरू हाम्रा संस्कृति र सभ्यता हुन् । यसैलाई मनन गरी जनकपुरधाम उप– महानगरपालिकाले नगरसभाबाट पारित गराइ सहयोग गरेकोमा मेयरलाई आशिर्वाद तथा धन्यवाद दिन बिर्सनु भएन । उपस्थित सबैले नगर प्रमुख लालकिशोर साहको काज हेरेर उहाँलाई उत्साहित गरेका थिए । खास गरी जनकपुरमा धाम जोडेर जनकपुरधामलाई धैधता दिएकोमा सबैले उच्च प्रशंसा गरेका थिए । अर्कोतिर जनकपुरधामको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन खेलेको भूमिकालाई उपस्थित सबैले मनखोली प्रशंसा गरेका थिए । अर्कोतिर मेयर लालकिशोर साहले एउटा बडो ऐतिहासिक कुरा याद दिलाउनु भयो कि नेपालमा पहिलो चोटी ६ वटा नगरपालिका क्षेत्रको गठन हुँदा त्यसमध्ये जनकपुर पनि एउटा थियो । ती सबै जनकपुर बाहेक महानगरपालिका भैसकेका छन् । जनकपुरधाममा अवस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा तथा जनकपुरधामलाई महानगरपालिका नबनाउने कुरामा केन्द्रीय सरकारको जनकपुर प्रतिको पक्षपातपूर्ण काम रहेको देखिन्छ ।

गोष्ठिमा यूकेएड सदृढ परियोजनाका केन्द्रीय पदाधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उडड् यन मन्त्रालयका प्रतिनिधि, जनकपुरधामका बुद्धिजीबी, शिक्षक, प्राध्यापक, व्यापार संघका पदाधिकारीहरू उप–महानगरपालिकाका निर्वाचित पदाधिकारीहरू, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न पार्टीका प्रतिनिधिहरू, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष, प्रादेशिक निति तथा योजना आयोगका उपाध्यक्ष, संस्कृतिविद, इन्जिनियर, डाक्टर आदि सबै क्षेत्रका प्रतिनिधीहरू सहभागी थिए । यस गोष्ठिमा जानकी मन्दिरलाई कसरी विश्व सम्पदा सूचीमा दर्ता हुन्छ त्यसबारे सुदृढ परियोजनाका पदाधिकारीहरूले बडो प्रष्ट संग ढाँचालाई प्रष्ट पारेका थिए । उनीहरूले निष्कर्षमा यस कामलाई अगाडि बढाउन एउटा विज्ञ समिति बनाएर जानकी मन्दिर बारे बृहत् लेखन काम गर्नु पर्ने, नेपालका अन्य सांस्कृतिक सम्पदाहरू कसरी विश्व सम्पदा सूचीमा दर्ता भएका छन् ? त्यसलाई गहन अध्ययन गरी दस्तावेज तयार पारेर पेश गर्नु पर्ने हुन्छ । क्रेटेरिया नपुगुन्जेल विश्व सम्पदा सूचीमा दर्ता हुन सक्दैन । यस्ता क्रेटेरिया पुरा गर्न उप–महानगरपालिकाले बढी मिहिनेत गर्नु पर्ने हुन्छ । अर्कोतिर जानकी मन्दिरको वरिपरि रहेका व्यक्तिहरूका निजी घरहरूलाई समेत बफर क्षेत्र भित्र राखी उनीहरूलाई समेत यथास्थितमा राख्न सकिन्छ । त्यसैले जानकी मन्दिरको वरिपरिका क्षेत्रभित्र पर्ने घरधनीहरूले पनि जानकी मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत भए पनि डर्नु पर्ने अवस्था देखिंदैन । बरु उहाँरूको घर जग्गाको मूल्यमा बृद्धि भई महत्व नै बढ्न जानेछ । गोष्ठिमा एउटा ठूलो महत्वपूर्ण कुरो के देखियो भने जनकपुरधामका बासिन्दाहरू एक मतले विश्व सम्पदा सूचीमा दर्ता होस् भन्ने चाहना राख्छन् । यसरी चाहना प्रकट गर्नु भनेको एउटा ठूलो सपोर्ट हो । नेपालमा अहिलेसम्म ९ वटा सम्पदाहरू विश्व सम्पदा सूचीमा दर्ता भैसकेका छन् ।

त्यसमध्ये दुईवटा राष्ट्रिय निकुञ्ज, तीनवटा ऐतिहासिक दरबारहरू, चारवटा धार्मिक तथा सांस्कृतिक सम्पदाहरू रहेका छन् । प्राकृतिक सम्पदाहरूमा चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज, ऐतिहासिक दरबारहरूमा काठमाण्डौ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायर रहेका छन् । यस्तै धार्मिक तथा सांस्कृतिक सम्पदाहरूमा पशुपतिनाथ मन्दिर, स्वयम्भुनाथ स्तुपा, चाँगुनारायण स्तुपा र लुम्बिनी क्षेत्र रहेका छन् । यी सबै मध्ये जानकी मन्दिर विश्व सम्पदा सूचीमा दर्ता नहुनुमा सबै भन्दा ठूलो कमी कमजोरी केन्द्रीय सरकारको रहेछ । पञ्चायत कालमा जनकपुर प्रतिको भेदभावलाई हेर्दा प्रष्ट रुपले बुझ्न सकिन्छ । प्रजातान्त्रिक सरकार समेतले यस मन्दिरलाई सूचिकृत गराउन निकै उदासिन देखिएको थियो । अहिलेको गणतान्त्रिक प्रणालीमा स्थानीय सरकारले जति आवाज उठाए पनि संघीय सरकारको ध्यान केन्द्रीत हुन सकेन भने दर्ताको काममा अवरोध खडा हुन सक्छ । यसर्थ केन्द्रीय, प्रादेशिक तथा स्थानीय सरकार एक साथ समन्वय गरी अगाडि बढ्दा मात्र जानकी मन्दिर विश्व सम्पदा सूचीमा दर्ता हुन सक्छ, होईन भने गाह्रै पर्छ होला । जानकी विश्वकी जगत माता हुन् । जानकी मन्दिर अहिले पनि त्रेतायुगको कुरालाई याद गराइ रहन्छ । जानकी मन्दिर विश्वकै मन्दिरहरू मध्ये एउटा अलग पहिचान बनाएको मन्दिर हो । मन्दिरको निर्माण पैगोडा शैलीमा मात्र नभइ मिश्रित शैलीमा भएको छ । त्यसैले विश्वमा यस किसिमको मन्दिर रहेको देखिँदैन । खासगरी विश्व्मा बसोबास गर्ने करौडौं हिन्दूहरूको आस्थाका केन्द्रको रुपमा रहेको छ । यसको संरक्षण हुनु भनेको नेपालको मात्र गौरवको विषय होइन, विश्वकै गौरवको कुरा हो । तर नेपाल सरकारको हेर्ने दृष्टिकोण अलि फरक भएकोले जानकी मन्दिर पछाडि परेको देखिन्छ । चाहे नेपालका पूर्वदेखि वर्तमानसम्मका राष्ट्रपति होस् वा प्रधानमंत्री सबैले पदमा बस्दाको अवधिमा कम्तिमा एकचोटी जानकी माताको दर्शन गरी आशिर्वाद लिन अनिवार्य रुपले आएका हुन्छन् ।

त्यति मात्र कहाँ हो र ? भारतीय राष्ट्रपति तथा प्रधानमंत्रीहरू समेत जानकी दर्शन गरी आशिर्वाद लिन आएकै हुन्छन् । वर्तमान भारतीय प्रधानमंत्री महामहिम मोदीज्यू पनि जानकी दर्शन गरी आशिर्वाद लिएर गएकै छन् । विश्वका हिन्दूहरू धार्मिक उत्सव भएका बेला जनकपुरमा आएर धार्मिक लाभ लिएर फर्केका हुन्छन् । जनकपुरविना विश्वको कुनै पनि ठाउँको तीर्थ अपूरो हुन्छ । त्यसैले होला अन्य ठाउँको धार्मिक स्थलहरूको भ्रमण सकाएर अन्तमा जनकपुरको गंगासागरको स्नान र जानकीको दर्शन भएपछि मात्र पूर्ण मानिन्छ । हामीले जनकपुरलाई गहिरोसंग खोज गर्यौं भने जनकपुरमा के छैन ? जनक र जानकीको नाम बेचेर मात्र हुदैन । जनक र जानकीलाई बचाउन सबैको सहयोगको आवश्यकता छ । राजर्षि जनककालमा देश विदेशका शिक्षार्थीहरू शिक्षा लिन जनकपुर आउँथे र दीक्षित भएर फर्कन्थे । अहिले जनकपुरको शैक्षिक अवस्था यति तल झरी सक्यो कि दुनियाँका मानिसहरू हेय दृष्टिले हेर्न थालेका छन् । अस्तु । लेखकः त्रिविका सेवा निवृत सह–प्राध्यापक हुन् ।

Comment


Related News