अपडेट 
२०७८ आश्विन १५, शुक्रबार ०८:२०

जलेश्वर । महोत्तरीको औरही नगरपालिकाको बेथिति विरुद्ध आन्दोलित वृहत मोर्चाको रिले अनशन तेश्रो दिन बिहीबार पनि जारी रह्यो ।

लोकतान्त्रिक समाजवादी पार्टीका नगर समिति संयोजक शंकर यादवको संयोजकत्वमा गठित मोर्चामा एकीकृत समाजवादी पार्टी , नेकपा एमाले तथा माओवादी केन्द्रको सहभागिता रहेको छ । मोर्चाले चरणबद्ध शान्तिपुर्ण आन्दोलन अन्र्तगत मंगलबारदेखि रिले अनशन थालेको संयोजक यादवले जनाए । मोर्चाले यस अघि सोमबार पत्रकार सम्मेलनको आयोजना गरि नगरपालिकाको बेथीति विरुद्ध शान्तिपुर्ण आन्दोलन गर्ने चेतावनी दिएको थियो । जनता समाजवादी पार्टी नेपाल औरही नगर अध्यक्ष महेन्द्र रायले भने –‘मेयर सुनिल कुमार यादवको तानाशाही प्रवृति विरुद्ध बाध्य भई हामी आन्दोलित भएका छौं ।’ नेता रायले स्पष्ट पार्दै भने –‘ हामीले नगरपालिका कार्यालयमा देखिएको अनियमितता ,अपरादर्शिताबारे पटक–पटक मेयर यादवलाई १५ सुत्रीय मांग सहित ज्ञापनपत्र नै बुझाएको भएपनि सोमाथि कुनै सुनुवाई भएको छैन , बाध्य भई हामीले आन्दोलन थालेका छौं । ’ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नगर संयोजक शंकर यादवको अध्यक्षतामा भएको सो पत्रकार औरही नपा –२ का वडाध्यक्ष विनोद पजियारले भने –‘ नगरपालिकाले आफु निकटका वडाध्यक्ष बाहेकलाई कार्यालयको गतिविधीबारे जानकारी समेत दिँदैनन झन सर्वसाधारण नागरिकको हविगत के होला भनेर भनिरहनु पर्दैन

। ’ मोर्चाले न्यायिक समिति कार्यान्वयन गर ,विगतका आर्थिक वर्षहरुको आय–व्यय शिर्षक अनुसार सार्वजानिक गर , कोरोना महामारी शिर्षकमा भएको खर्च सार्वजानिक गर , नगरपािलकाको आयव्ययको उच्चस्तरीय छानबिन समितिद्वारा छानबिन हुनु पर्ने सहितका १५ सुत्रीय मांग अघि सार्दै गाँउपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो । ज्ञापनपत्रमाथि सुनुवाई नभएपछि मोर्चाले चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गर्दै आन्दोलित बनेको छ । लोसपा,जसपा ,नेकपा एमाले , माओवादी , एकीकृत समाजवादी पार्टी गरि पाँचदलीय मोर्चाले मेयर विरुद्ध विरोध प्रदर्शन , धर्ना कार्यक्रम गर्दै आएको छ । रिले अनशनमा औरही नपाका उपमेयर रेणु झा ,नेकपा माओवादीको प्रदेश कमिटि सदस्य रामबाबु चौधरी सहितका ५० जना भन्दा बढि नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

Comment

Related News