अपडेट 
२०७८ आश्विन १६, शनिबार ०७:५२

जलेश्वर । समता र समावेशी शिक्षा कार्यक्रम अन्र्तगत जिल्ला स्तरीय मातृभाषाको माध्यमबाट शिक्षण सिकाई सम्बन्धि अभियानको सरोकारवालाहरु संगको छलफल कार्यक्रम पाँच बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

युनिसेफको आर्थिक तथा प्राविधिक सहयोग र सम्बन्धित पालिकाहरुको आयोजनामा शुक्रबार सम्पन्न छलफलमा महोत्तरी जिल्लाका सोनमा , सम्सी ,महोत्तरी , एकडारा ,मटिहानी ,रामगोपालपुर तथा मनरा शिश्वा गरी सात वटा पालिकाका शिक्षा संयोजक, जनप्रतिनिधी र बिद्यालयको प्रतिनिधी सहितको सहभागिता रहेको थियो । आगामी मंसिर सम्म सम्बन्धित बिद्यालयहरुमा मैथिली भाषा (मातृभाषा) को माध्यमबाट अध्ययनको निम्ति छलफल अघि बढाउने , मातृभाषाको अध्ययन अध्यापन हुँदै आएको स्थानमा अवलोकन भ्रमण गर्ने , चालु आर्थिक बर्षको बजेटमा मातृभाषाको पाठ्यक्रम निर्माणको प्रक्रिया पुरा गर्ने , २०७९को शैक्षिक शत्र अघि नै मातृभाषाको माध्यमबाट शिक्षण सिकाईको वातावरण निर्माण गर्न चाहिने पुर्वाधारहरु तयार गर्ने सहितका घोषणापत्र जारी गरिएको छ । मातृभाषाको माध्यमबाट शिक्षण सिकाईको बारेमा कानुनी प्रावधान र प्रचलित अभ्यासहरुको जानकारी गर्न र मातृभाषाको माध्यमबाट शिक्षण सिकाई क्रियाकलापको महत्वबारे जानकारी गराउने उद्देश्यले समता र समावेशी अभियान थालिएको छ । शिक्षा ऐन २०७६ ले मातृभाषामै शिक्षण सिकाईको लागि बाटो खुला गरेको भएपनि पालिकाहरुले यस सम्बन्धमा छलफल समेत गर्न नसकेको अवस्थामा समता र समावेशी अभियानको यस कार्यक्रममा सहभागि जनप्रतिनिधी तथा शिक्षा संयोजकहरुले स्थानीय स्तरमा छलफल अघि बढाउने प्रतिबद्धता जनाए । मातृभाषा सम्बन्धि शिक्षण सिकाईमा चार वर्ष अघि जलेश्वर नगरपालिका–७ का चार वटा विद्यालयहरुमा जारी रहेको र मटिहानी नगरपालिकाले केही दिन पुर्व मातृभाषाको माध्यमबाट शिक्षण सिकाई शिर्षकमै ६ लाख बजेट विनियोजन गर्ने भएको छ ।

एक्का दुक्का बिद्यालय बाहेक मातृभाषाबारे चर्चा समेत नगरेको अवस्थामा सुरु भएको समता र समावेशी अभियानको कार्यक्रमले सम्बन्धित निकायहरुलाई घच्घच्याउने कार्य गरेको मैथिली अभियानी एवं पत्रकार मनोज झा मुक्तिले बताए । कार्यक्रममा बोल्दै सहजकर्ता नित्यानन्द मण्डलले मातृभाषामा शिक्षण सिकाई हुने क्षेत्रका छात्र÷छात्राहरु बहुप्रतिभाशाली निर्माण हुने गरेको उदाहरणहरु प्रसशस्तै रहेको बताए । उनले भने –‘ कुनै पनि भाषा भुगोलको हुन्छ र भाषाकै कारण ठुल–ठुलो आन्दोलन समेत भएको उदाहरण विश्वसामू प्रष्ट छ , प्रदेश–२ कै कुरा गर्ने हो भाषाकै माध्यमले हामीलाई तोड्ने प्रयास गरिन्छ, तसर्थ हामी मातृभाषा प्रति सचेत हुनै पर्छ । ’ भाषा आन्दोलनकै कारण पाकिस्तानबाट बंगलादेश अगल भएको र मित्र राष्ट्र भारतको पश्चिम बंगालमा बंगाली भाषाको विकासले समाजको विभिन्न क्षेत्र विकसित भएको उदाहरण प्रस्तुत गर्दै मण्डलले स्थानीय निकायबाटै यस अभियानको सुरुवात हुनु पर्ने धारणा राखे । मगहीको हल्लालाई राजनीतिक प्रोपोगाण्डाको संज्ञा दिँदै दिमागले होइन ह्दयले सोंचेर अगाडि बढ्नु पर्ने आजको आवश्यकता रहेको मण्डलले बताए । यथोचित जनशक्तिको अभाव पाठ् यपुस्तकको अभाव लगायतको समस्याका वावजुद प्रयास गरिए विस्तारै भएपनि लक्ष्य सम्म अवश्य पुगिने कार्यक्रममा सहभागि शिक्षक चन्देश्वर साहले बताए । कार्यक्रममा बोल्दै महोत्तरी गाउँपालिकाकी शिक्षा संयोजक जुली ठाकुरले महोत्तरीकै शिक्षकहरुको दुखेसो उद्धित गर्दै भनिन ‘ शिक्षकहरुले मसंग गुनासो गर्छिन , कि हेर्नुस न मैडम ईनिहरुलाई त मैथिलीमै सम्झाउनु पर्दोरहेछ नेपालीमा बुझ्दै बुझ्दैनन ।

’ महोत्तरी गाउँपालिकाले अहिले सम्म मातृभाषामा शिक्षण सिकाई सम्बन्धि कुनै काम नगरेको स्विकार गर्दै संयोजक ठाकुरले भनिन –‘ हामी प्रतिबद्ध छौं , हामीलाई पनि यति धेरै कुरो थाहा थिएन तर अब हामीले यसबारे छलफल मात्र होइन योजनाकै रुपमा अगाडि बढाउन प्रयास थाल्नेछौं । ’ कार्यक्रममा बोल्दै रामगोपालपुर स्थित रामजानकी बिद्यालयका शिक्षक किशुनदेव महतो , एकडारा गाँपाका शिक्षा संयोजक शम्भु साह, कोल्हुवा बगिया जनता माध्यमिक विद्यालयका जिवछ ठाकुर , शिक्षक एवं मैथिली अभियानी चन्द्रभुषण राय लगायतको सरोकारवालाहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा जलेश्वर नगरपालिकाका जनप्रतिनिधी तथा शिक्ष संयोजकको अनुपस्थिति दुर्भाग्यपुर्ण रहेको गुनासो वक्ताहरुले गरेका छन् ।

Comment


Related News

Latest News

Trending News